जनता टाइम्स

९ असार २०७६, सोमबार ०९:१२

सर्लाही घटना : प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको गृहमन्त्रीको भनाई


काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द्र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको बताउनु भएको छ । उहाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा उनको मृत्यु भएको बताउनु भएको हो ।

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित हुनुभएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताउनु भयो । उहाले घटनालाई यसरी व्याख्या गर्नुभयो, ‘सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासो आएको थिये । त्यही आधारमा प्रहरीले गस्ती निगरानी बढाइ रहेको थियो । असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तीमा रहेको बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जना आए । उनिहरुले प्रहरी टोली देख्नासाथ गोली चलाए, त्यसपछि ड्युटीमा रहेका प्रहरीले आत्मरक्षाका लागि गोली चलाएका हुन् ।’

उक्त घटनामा प्रहरीको गोली लागेर विप्लव समूहका नेता कुमार पौडेल मारिएको मन्त्री थापाले समितिलाई जानकारी गराउनुभयो । त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ।