जनता टाइम्स

९ असार २०७६, सोमबार १२:००

एउटै गाउँमा ४२ टन मह उत्पादन


चितवन, असार ९

पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ ।

थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् ।

मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रु दुईदेखि तीन लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन् ।

हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रु १० लाख, हरियो वन कार्यक्रमले रु १० लाख १२ हजार र डाबर नेपालले रु दुई लाख ४० हजार सहयोग गरेका छन् ।

किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । विसं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिनुभयो । यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उहाँको भनाइ छ ।

मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक सङ्घ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा पाँच सयदेखि छ सय टनसम्म मह उत्पादन हुने बताउनुभयो । ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उहाँले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिनुभयो । रासस