Untitled Document

सञ्चारमन्त्रीको अठोट : सवै पक्षलाई साथ लिएर सुधारको काम गर्छु, गलत काम गर्दै गर्दिन

काठमाडौं भदौ २६

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरोकारवाला सवै पक्षलाई साथमा लिएर सुधारको काम गर्ने अठोट जनाउनु भएको छ । सोमवार सञ्चार मन्त्रालयमै प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझेपछि मन्त्री बस्नेतले सो अठोट जनाउनु भएको हो ।

‘सरकारी जागिर खाएको भए सेवा निबृत्त हुनेथिएँ, १६ बर्ष पहिला नै मन्त्री भइसकेको होे, राजनीतिमा लागेकोले बल्ल क्यारियर शुरु भएको छ, त्यसैले राम्रो काम गरेर समर्थक बढाऊँ, मरेपछि पनि मलामी बढाउने काम गरौं भनेरै लागेको छु,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘म सवै पक्षलाई साथ  लिएरै सुधारको काम गर्छु, गलत काम त गर्दै गर्दिन ।’

मन्त्री बस्नेतले आफू कुनै पनि बहानामा अनिर्णयको बन्दी भने नबन्ने बताउनु भयो । ‘सवै पक्षलाई मिलाएर जाने क्रममा सवैको साझा धारणा आउनै सकेन भने सहमति भएन भन्दै अनिर्णयको बन्दी बन्दिन, फटाफट काम गरेर आम जनता र सरोकारवाला संस्थाले अनुभुति हुने खालको काम गर्छु,’ सञ्चारमन्त्री बस्नेतले भन्नुभयो । बस्नेतले श्रमजीवि पत्रकार ऐनको पुर्ण कार्यान्वयन, बैंक खातामार्फत श्रमजीवि पत्रकारलाई तलव भुक्तानी गरी न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ आवश्यक गृहकार्य अघि बढाइसकेको पनि बताउनु भयो ।

मन्त्री बस्नेतले प्रेस चौतारी नेपाल, नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टरलगायत सञ्चारसँग आवद्ध सवै संघ संस्थाहरुलाई सकारात्मक काममा साथ दिन र मिडियाको बिकाशका लागि गर्नै पर्ने कामको प्रस्ताव ल्याउन आग्रह पनि गर्नुभयो ।

‘सवैले मनन गर्ने खालको प्रस्ताव ल्याएर मुलुक र जनताको हितमा काम गरौं, ब्यक्तिगत र संस्थागत फाइदा मात्रै नहेरौं,’ सञ्चार मन्त्री बस्नेतले भन्नुभयो । सञ्चार मन्त्री बस्नेतले आफू मन्त्रालयको नेतृत्व गर्दा कुनै दलको नभई सवैको प्रतिनिधिका रुपमा काम गर्न चाहेको पनि प्रष्ट पार्नुभयो ।

‘म नआएको भए पनि कोही न कोही त हुन्थ्यो मन्त्री, म मिडियामैत्री पनि छु, सवैलाई साथ लिन सक्छु, कांग्रेसको नेता भएपनि एमाले र माओवादी साथीहरुले पनि सहयोग गरेकै कारण चुनाव जितेको हो, अव मन्त्री भएपनि मैले त्यो छवी झनै उजागर गर्नुपर्छ,’ बस्नेतले भन्नुभयो, ‘मिडिया, श्रमजीवी पत्रकारलाई फाइदा हुने गरी देश र जनताको हितमा फटाफट काम गरौं, म केही गर्न आएको छु, त्यसैले राती ११ बजेसम्म पनि काम गरिरहेको छु ।’

 

 

२६ भाद्र २०७४, सोमबार २२:४७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *