Untitled Document

प्रदेश २ स्थानीय तह निर्वाचन : एमाले अघिअघि, कांग्रेस-माओवादी पछिपछि, राजपा-फोरम देखिए निकै पछि

१३६ मध्ये ७७ स्थानीय तहमा एमाले बलियो, कांग्रेस र माओवादी केन्द्र पच्छ्याउँदै, राजपा, फोरम नेपाल र फोरम लोकतान्त्रिक निकै थोरै स्थानमा मात्रै देखियो प्रतिस्पर्धी

बीरगञ्ज, भदौ २८

आगामी असोज २ गते हुन गइरहेको प्रदेश २ को १ सय ३६ स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा मतदाता नेकपा एमालेप्रति आकर्षित हुन थालेका छन । लामो समयसम्म सत्तामा बसेर मधेशका जनताको पक्षमा सिन्कोसमेत नभाँचेका कांग्रेस, माओवादी केन्द्र, राजपालगायतका मधेसी दलहरुले फैलाएको भ्रम तोडिएसँगै मतदाता एमालेप्रति आकर्षित बनेका हुन ।

पछिल्लो समय मतदातामा देखिएको आकर्षणका कारण प्रदेश २ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अग्रता लिने पक्का भएपछि विपक्षी दलहरु अताल्लिएका छन । एमालेलाई एक्ल्याउने घोषणा गरेको राष्ट्रिय जनशक्ति पार्टी (राजपा), कांग्रेस र माओवादी केन्द्रका नेताहरु आफै एक्लिने अवस्थामा पुगेका छन । मधेशमा एमाले सवैभन्दा बलियो शक्तिको रुपमा देखापरेको छ, एमालेलाई हराउन सक्ने क्षमता कुनैपनि दलसँग छैन भन्ने तथ्यले देखाइसकेको छ, एमाले प्रदेश २ का संयोजक रहनुभएका स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्नुहुन्छ ।

मधेशमा एमाले सवैभन्दा बलियो शक्तिको रुपमा देखापरेको छ, एमालेलाई हराउन सक्ने क्षमता कुनैपनि दलसँग छैन भन्ने तथ्यले देखाइसकेको छ

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तराई मधेशको बिकाशमा गरेको उल्लेखनीय काम, पछिल्ला समय चुनावी कार्यक्रमका क्रममा जनतासँग भएका छलफल, एमालेले तय गरेका एजेण्डा र मधेशकेन्द्रित अभियानसहितका आधारमा प्रदेश २ का आठ वटै जिल्लामा एमालेकै अग्रता हुने प्रष्ट संकेत मिलेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा पहिलो पार्टीका रुपमा स्थापित भएको एमाले प्रदेश २ मा पनि पहिलो शक्तिका साथ बिजयी हुने आम मतदाताको बिश्वास छ । पहिले मधेशविरोधी भनेर कुप्रचार गरिएको भएपनि जनताबीच एमाले लोकप्रिय र मधेशको पक्षमा काम गर्ने पार्टीको रुपमा त्यहाँका जनताले लिने गरेका छन् । यसबीचमा एमालेले मधेशका सबै जिल्लामा घरदैलो, भेला, बैठक, साना ठूला सभा गरिरहेको छ ।

जति भ्रम छर्नु पहिले छरे, तर अहिले जनताले चिनिसके । मधेशको पक्षमा काम गर्ने सक्कली पार्टी एमाले नै हो भन्ने जनताले बुझेका छन् । हामी पहिलो शक्तिका रुपमा मधेशमा उदाउदैछौं, एमाले महोत्तरीका अध्यक्ष जामुन मण्डल भन्नुहुन्छ ।

महोत्तरीसहित मधेशका ८ वटै जिल्लामा एमाले अग्रस्थानमा छ भने प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेस नै रहेको उहाँको भनाइ छ । माओवादी केही ठाउमा अघि देखिएको छ । राजपा भने निकै पछि रहेको छ ।

सप्तरी : १८ वटा स्थानीय तहमा १० वटामा जित्ने ठोकुवा

विगतमा मधेशी दलका नेताहरुले युवालाई आन्दोलनमा मात्र बरालेको, विकासको काममा चासो नदेखाएकोले त्यसको परिणाम राजपाले अहिले भोग्ने ठोकुवा गर्नुहुन्छ सप्तरीका एमाले अध्यक्ष गोविन्द न्यौपाने । एमालेले १८ वटा स्थानीय तहमा १० वटामा जित्ने ठोकुवा न्यौपानेले गर्नुभयो । पहिले उनीहरुले अरुका विचार सुन्न दिएनन । जनताले बल्ल थाहा पाए । कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमले भ्रम फैलाएको रहेछ, उनीहरु  नै मधेश बिरोधी हुन, एमाले मधेशविरोधी होइन रहेछ भन्ने सबैमा परेको छ, न्यौपानेले भन्नुभयो ।

बिकाशका लागि जनताले एमाले रोजेका छन : गोविन्द न्यौपाने, अध्यक्ष सप्तरी

न्यौपानेका अनुसार एमालेले सुरुंगा, खड्ग, चमुनाथ, डाक्नेश्वरी, कञ्चनरुक नगरपालिकामा सानदार जीत हासिल गर्नेछ । ती स्थानीय तह एमालेका लागि अति सुरक्षित क्षेत्र हो । त्यस्तै सप्तकोशी र राजविराजमा पनि अग्रस्थानमा छ । ९ वटा गाउपालिकामा कृष्णसौरभ, तिरहुत, विलीचपेनासहित ४ वटामा जित निश्चित रहेको उहाँको भनाइ छ ।

सिरहा : १७ मध्ये ९ स्थानीय तहमा एमाले निकै अगाडि

राजपाका नेता, कार्यकर्ताहरु एमाले र अन्य दलमा भटाभट प्रवेश गरेकाले आफ्नो पार्टी सजिलै अग्रस्थानमा आउने एमाले सिरहाका अध्यक्ष प्रमोद यादव बताउनु हुन्छ । सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह छन । त्यसमा ६ वटा नगरपालिकाका प्रायः सबै सिटमा एमालेले जित्ने यादवले बताउनु भयो ।

सवैको रोजाई एमाले बनेको छ, अन्य दलबाट भटाभट प्रवेश गर्दैछन : प्रमोद यादव, अध्यक्ष सिरहा

त्यस्तै भगवानपुर, अरनवासहित ३ गाउपालिका एमालेका उम्मेदवार भारी मतले विजय हुने तथ्य उहाँले राख्नुभयो । कांग्रेस, माओवादी सत्तागठबन्धने राज्य शक्तिको चरम दुरुपयोग गरेको र आफूहरुले त्यसलाई चिर्दै जनतामाझ पुगेको कारण जीत शुनिश्चित रहेको यादवको भनाइ छ ।

महोत्तरी : १५ मध्ये ८ स्थानीय तहमा मा एमाले बलियो

 

महोत्तरी एमाले अध्यक्ष जामुन मण्डल विगत दिनमा मधेशी पार्टीहरुले जनतालाई झुक्याएको बताँउनु हुन्छ । आफ्नो जिल्लामा एमालेले अन्य दललाई निकै पछि पार्ने तथ्यसमेत उहाँले सुनाउनु भयो । महोत्तरीमा १० नगरपालिका र ५ गाउपालिकासहित १५ स्थानीय तह छन ।

मधेशीलाई धेरै झुक्याइयो, अव झुकिदैनन मधेशका मतदाता : जामुन मण्डल, अध्यक्ष, एमाले, महोत्तरी

एमालेले ५ वटा नगरपालिका जलेश्वर, बर्दीवास, भंगाह, मन्डासिसवा कटैया र रामगोपालपुरमा अत्यधिक बहुमतका साथ सबै पदमा जित्ने लक्ष राखेको छ । त्यस्तै ३ गाउपालिका पिपरा, महोत्तरी र चम्सीमा एमालेको जित निश्चित रहेको सर्वेक्षणले देखाएको छ । १५ स्थानीय तहमध्ये एमालेले कम्तीमा ८ स्थानीय तहमा बिजयी हुने लक्ष राखेको छ । मतदाताको रोजाइको आधारमा यस्तो तथ्य निकालिएको हो ।

 धनुषा : १८ मध्ये ९ स्थानीय तहमा एमालेको पकड

 सबैको चासो र केन्द्रविन्दु रहेको धनुषा जिल्लामा पछिल्लो दिन एमालेले पकड बलियो पार्दै लगेको छ । आन्तरिक समस्या सुल्झाई १८ वटा स्थानीय तहमध्ये अधिकमा जित हासिल गर्न लागिपरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव बताउनु हुन्छ । एमाले मधेशमा अरु भन्दा उत्तम पार्टी रहेको बुझ्न थालेपछि अन्य दल तिल्मिलाइरहेका छन ।

अध्यक्ष राजकिशोर यादव भन्छन : एमाले नै अरु पार्टी भन्दा उत्तम हो भन्ने मधेसीले बुझिसके

एमाले नै अरु पार्टी भन्दा उत्तम हो भन्ने मधेसीले बुझिसके, अध्यक्ष यादवले भन्नुभयो । जनकपुर उपमहानगरपालिका र अन्य ११ नगरपालिका छन् । उपमहानगरपालिकामा कांग्रेससँग प्रतिष्पर्धा छ । मिथिला, कमला, विदेह, शहिदनगर र सबैला नगरपालिकामा एमाले अग्रस्थानमा रहेकोले सबै सिटमा विजयी हुने यादवले ठोकुवा गर्नुभयो ।  त्यस्तै ६ वटा गाउपालिकामा मुखियापटि मुसरनीया, बटेश्वर, धनौजी र औरहीमा एमाले अघि छ । यादवका अनुसार धनुषामा एमालेले एक्लै ५० प्रतिशत भन्दा बढी स्थानमा बिजय हासिल गर्नेछ ।

सर्लाही :  २० मध्ये ११ स्थानीय तहमा एमालेको जित निश्चित

सर्लाहीमा पनि एमाले अग्रस्थानमा छ । ११ नगरपालिका र ९ वटा गाउपालिका गरी २० स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा एमालेको जित निश्चित देखिएको छ ।

सबैको ध्यान एमालेतिर : रेवती पन्त, अध्यक्ष सर्लाही

एमालेका जिल्ला अध्यक्ष रेवती पन्त मधेश, तराईमा एमालेको प्रष्ट नीति, विकासमा चासो र जनताबीच बढी घुलमिल भएका कारण एमालेप्रति आकर्षण बढ्दै गएको बताउनु हुन्छ । उहाँका अनुसार इश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, वाग्मती, बरथहवा, कविलासी, मलंगवाजस्ता नगरपालिकामा एमाले अरु दल भन्दा निकै अगाडि छ ।

त्यस्तै पर्सा, विष्णु, चन्द्रनगर, वसवरीया गाउपालिकामा एमालेको जित निश्चित छ । राजपाका नेताहरु आएको कारण पनि एमालेलाई सजिलो भएको हो । ती स्थानीय तहमा एमालेको पछिपछि कतै कांग्रेस र कतै माओवादी केन्द्र छ । राजपा भने निक्कै पछि रहेको छ ।

 

बारा : १६ मध्ये ९ वटा स्थानीय तहमा एमाले अघि

बाराका १६ वटा स्थानीय तहमध्ये ९ वटामा एमाले अघि रहेको पाइएको छ । जनताको भावना बुझ्ने, मधेशका समस्यामा काम गर्न सक्ने, वेरोजगारी अन्त र युवालक्षित कार्यक्रम ल्याउने पार्टी भएकाले एमालेलाई जिताउन जनता एकजुट भएर लागेको एमाले बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा बताउनु हुन्छ ।

जनताले कुरा बझे, अव भ्रम फैलाउने सकिन्छन : सुन्दर विश्वकर्मा, अध्यक्ष बारा

जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अग्रस्थानमा छ । निजगड, बजरौटा, सिम्रोनगौढ, महागढीमाई नगरपालिकामा एमालेका उम्मेदवारहरु प्रतिष्पर्धी कांग्रेस र माओवादी केन्द्र निकै तल छन् । वारागठी, परवानीपुर, पर्सौनी, सुवर्णलगायत ५ वटा गाउपालिकाको चुनावी परिणाम एमालेको पोल्टामा जाने पक्का देखिएको छ । यस आधारमा बारामा पनि अन्य दल भन्दा एमाले निकै अग्रस्थानमा रहेको देखिन्छ ।

पर्सा : १४ मध्ये ९ स्थानीय तहमा एमालको जीत निश्चित

पर्साको अधिक स्थानीय तहमा एमालेको जित हुने देखेपछि अन्य दलका नेताहरुमा खैलाबैला मच्चिएको र उनीहरु राज्य शक्ति दुरुपयोग गरी चुनाव जित्ने दाउमा रहेको एमाले पर्सा अध्यक्ष प्रभु हजारा पासवान बताउछन । पर्साको १४ वटा स्थानीय तहमा कम्तीमा ९ वटामा एमालले प्रष्ट जित हासिल गर्ने आँकलन उहाँको छ ।

पर्सा एमाले अध्यक्ष प्रभु हजारा पासवान भन्छन, जनताको रोजाइ एमाले बनेपछि अरु दलमा खैलाबैला छाएको छ

बीरगञ्ज महानगरपालिकामा एमाले उम्मेदवार सबै सिटमा जित्ने पक्कापक्की भएको हजारा बताउनु हुन्छ छ । त्यसै पर्सागढी, पोखरीया नगरपालिकामा एमाले अग्रस्थानमा छ । १० वटा गाउपालिकामध्ये पटेरासुवली, सकुवापसौनी, धोवीसहित ६ वटामा एमाले अघि छ ।

रौतहट : १८ मध्ये  १२ स्थानीय तहमा निकै अगाडि

रौतहटका एमाले अध्यक्ष कमल राय यादव मधेशी पार्टीहरुले एमालेविरुद्ध पहिले चलाएको मधेश विरोधी पार्टी भन्ने नारा हावा खाइसकेको कारण एमालेको जीत सुनिश्चित रहेको ठोकुवा गर्नुहुन्छ । पछिल्लो समय जनता एमालेले गरेको कामका आधारमा मतदान गर्ने निश्कर्षमा पुगेपछि अन्य दलहरु निकै पछि परेको उहाँको भनाई छ ।

एमाले मधेशविरोधी हो भन्ने नारा हावा खाइसक्यो, अव भ्रम छर्न सक्दैनन : कमल राय यादव, अध्यक्ष रौतहट

१८ वटा स्थानीय तह रहेको रौतहटमा एमाले १२ स्थानीय तहमा निकै अगाडि रहेको छ । एमालेको पछिपछि कांग्रेस र माओवादी केन्द्र छन् ।चन्द्रनिगाहपुर, गुजरा, वृन्दावन, गौर, गढीमाई, कटहरिया, विजयापुर, राजपुरलगायत नगरपालिकामा एमालेको पकड छ । दुर्गा भगवती र जमुनामाई दुवै गाउपालिकामा एमाले अग्रस्थानमा रहेको उहाँले बताउनु भयो । 

२८ भाद्र २०७४, बुधबार १६:५०मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *