Untitled Document

चालिस हजार घुससहित रेष्टुरेन्टबाट समातिए अध्यागमन बिभागका नासु

२५ हजार घुससहित पक्राउ परेका पालुङटार नगरपालिका सव-इञ्जिनियर सुनिल देवकोटाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर

काठमाडौ, भदौ २८

अध्यागमन बिभाग कालिकास्थानमा कार्यरत नायव सुब्बा (नासु) कोषराज भट्टराई ४० हजार घुससहित कालिमाटीस्थित एक रेष्टुरेन्टबाट पक्राउ परेका छन । भिषा एक्सटेन्शन प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा भट्टराईलाई आज पक्राउ गरेको हो ।

‘अध्यागमन बिभाग, कालिकास्थानमा कार्यरत नायव सुब्बा कोषराज भट्टराईले भिषा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजलाई रु ४० हजार घुस रकम लिँदै गर्दाको अवस्थामा कालिमाटी, काठमाडौंबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता सहसचिव जीवराज कोइरालाले आज जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

अख्तियारले आज नै २५ हजार घुससहित रंगेहात पक्राउ परेका पालुङटार नगरपालिका गोरखामा कार्यरत सव इञ्जिनियर सुनिल देवकोटाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग निर्माणधिन रहेको घरको स्थायी इजाजत प्रमाणपत्रको सिफारिश गरिदिने प्रयोजनका लागि घुस लिन्दै गर्दा देवकोटा पक्राउ परेका थिए ।

अनुसन्धानको क्रममा देवकोटाले घुस लिएको प्रमाणित भएकोले बिगो २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ अनुसार कैद तथा जरिवानाको मागसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

२८ भाद्र २०७४, बुधबार १८:२४मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *