जनता टाइम्स

१० असार २०७६, मंगलवार १४:०५

नर्सले तोकिएको पारिश्रमिक नपाएको गुनासो


काठमाडौं, असार १०

राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रमिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रमिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो ।

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवकोटाले नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

सांसद इन्दु कडरियाले कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।