Untitled Document

दोलखामा भाइरल ज्वरोको महामारी : दैनिक सयको हाराहारीमा अस्पताल आउँछन उच्च ज्वरो र रुघाखोकीका बिरामी

दीपशंकर चौलागाई/दोलखा

दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोको बिरामीको ह्वातै बढेका छन् । यहाँ अहिले भाइरल ज्वरोले महामारीकै रूप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको छ ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दैनिक ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अरू स्वास्थ्य संस्थाको तथ्यांक हेर्दा दैनिक करिब १ सयको हाराहारीमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले एक सातायता विगतका दिनमा भन्दा ५० भन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका बताउनु भयो ।

ग्रामीण भेगमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले दिएको तथ्यांकमा अन्य समयमा भन्दा एक सातायता ७५ प्रतिशत उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको देखिएको छ ।यता, सामुदायिक अस्पतालमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोको बिरामी आउने गरेका छन् । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्था नछाडी सेवा दिन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले निर्देशन दिइसकेको कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले जानकारी दिनुभयो ।

भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जीउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छ । लगातार तीन दिनसम्म उच्च ज्वरो आए चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिकलगायतका औषधि सेवन गरी आराम गर्नुपर्छ । ‘उमालेको पानी र झोलिलो पदार्थ बढी सेवन गरे रोग नियन्त्रणमा टेवा पुग्न सक्छ । यस्ता आधारभूत कुरामा ध्यान पु¥याउन सके भाइरल ज्वरोबाट निकै हदसम्म बच्न सकिने हुनाले समयमै ध्यान पु¥याउनुपर्दछ,’ जिल्ला स्वास्थ्यका निमित्त प्रमुख थोकरले भन्नुभयो ।

मुख्यगरी ‘इन्फुलुएन्जा भाइरस’ अथवा ‘राइनो भाइरस’ यो विभिन्न प्रकारका भाइरसको इन्फेक्सनबाट हुने समस्या हो । त्यसमा धेरैजसोलाई रुघाखोकी लाग्ने, वाकवाक हुने, टाउको दुख्ने, ज्वरो आउने गर्छ । यस्तो खालको प्रिजेन्टेसन भाइरल ज्वरोमा आउँछ । यसबाट जोगिन हामीले सबैभन्दा पहिला आफूसँग जुन किसिमको रोग छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।

निमित्त कार्यालय प्रमुख थोकर भन्छन्, ‘खोकी लाग्दा बाफ लिने, पर्याप्त मात्रामा झोलिलो कुरा खाने गर्यो भने भाइरस आफैं घट्दै जान्छ । तर, कुनैकुनै अवस्थामा काम ज्वरो आउने, धेरै ज्वरो आउने, तारन्तार खोकी लाग्ने, बेसरी छाती दुख्ने भयो भने भाइरल इन्फेक्सन, ब्याक्टेरिया इन्फेक्सन अथवा निमोनियामा परिणत भयो भन्ने बुझेर बिरामीलाई तत्काल अस्पताल लैजानुपर्छ ।’

२९ भाद्र २०७४, बिहीबार ०९:००मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *