Untitled Document

फोनिजको घोषणा : इतिहास बंग्याएर भट्टराइको नाममा आमसंचार प्रतिष्ठान गठन गरे कडा प्रतिवाद

काठमाडौं, भदौ २९

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको ठोकुवा गर्दै राष्ट्यि आम सञ्चार प्रतिष्ठान उहाँकै नाममा गठन गर्न सरकारलाई दवाव दिएको छ ।

सरकार र नेपाल पत्रकार महासंघले इतिहास बंग्याएर पूर्वप्रधानमन्त्री कृषप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानी आम सञ्चार प्रतिष्ठान गठन गर्न लागेकोप्रति कडा आपत्ति जनाउँदै फोनिजले त्यस्तो काम भए कडा प्रतिवाद गर्ने घोषणा पनि गरेको छ । फोनिजका महासचिव गजुरधन राईले बिज्ञप्ती जारी गरी इतिहास बंग्याएर जनजातीको अपमान गर्ने काम सरकार र महासंघबाट नहोस भन्ने आग्रह पनि गर्नुभएको छ ।

“नेपाल सरकारले राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न लागेको जानकारी पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ । आमसंचार राष्ट्रिय प्रतिष्ठान गठन गर्ने सरकारी तयारीको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्वागत गर्दछ । तर, जसरी सरकारले पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको इतिहासलाई बंग्याएर पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मानी उहाँको नाममा प्रतिष्ठान गर्न लागेको भनी आएको समाचारप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । यो सम्मानित नेता भट्टराईकै अपमान पनि हो,” राईले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ।

फोनिजले आमसंचार प्रतिष्ठान सम्मानित नेता भट्टराईको नाममा गठन गर्ने सरकारी तयारी प्रति कडा आपत्ति जनाउँदै महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न नेपाल सरकारसँग माग गरेको हो । “सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको इतिहासको बंग्याइलाई तत्काल सच्याउन नेपाल सरकार तथा नेपाल पत्रकार महासंघसँग फोनिज माग गर्दछ,” बिज्ञप्तीमा भनिएको छ, “नेपाल पत्रकार महासंघको संस्थापकको विवादित विषय नटुंग्याई सन्तनेता भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गरिए फोनिज त्यसविरुद्ध संघर्षमा उत्रने छ ।”

२९ भाद्र २०७४, बिहीबार १३:३७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *