Untitled Document

बीरगञ्जबाट कांग्रेस महामन्त्रीको उदघोष : कांग्रेसविना मधेशी दल र माओवादी केन्द्रमा केही गर्ने हैसियत नै छैन

बीरगञ्ज, भदौ २९

कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेसविना मधेशी दल र नेकपा माओवादी केन्द्रमा केही गर्ने हैसियत नै नभएको घोषणा गर्नुभएको छ । बीरगन्जको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मधेशी दलहरु र माओवादी केन्द्रको हैसियत नेपाली कांग्रेसको पुच्छर समाएर बैतरणी पार गर्ने मात्रै रहेको ठोकुवा गर्नुभएको ।

‘सबै मधेशी दल र माओवादीहरुको एक्लै केही काम गर्ने हैसियत नै छैन, नेपाली कांग्रेसको पुच्छर समाएर बैतरणी पार गर्ने मात्रै हो, कांग्रेसले त्यागेको दिन सकिन्छन,’ कोइरालाले भन्नुभयो । कोइरालाले मधेशका जनता मधेशी दल राजपा र माओवादी केन्द्रको भ्रममा पर्न नहुने भन्दै कांग्रेसबिना एक कदम अघि बण्ढन नसक्ने दललाई मत दिन नहुने बताउनु भयो ।

कांग्रेसविना मधेशी दल र माओवादीहरुको एक्लै केही काम गर्ने हैसियत नै छैन, नेपाली कांग्रेसको पुच्छर समाएर बैतरणी पार गर्ने मात्रै हो, कांग्रेसले त्यागेको दिन सकिन्छन

नेपाली कांग्रेसमात्र मधेशी पक्षधर पार्टी भएको दावी गर्दै उहाँले मधेशका मसिया भन्ने मधेशवादी दल र माओवादीसँग अव कुनै शक्ति नभएको र समाप्तीको बाटोमा लागेको ठोकुवा गर्नुभयो । कांग्रेससँग मिलेर माओवादी केन्द्रले आफ्नो हैसियत देखाउन खोजेको उहाँको भनाई थियो । मधेशी दलका नेताहरु सोझा सिधा मधेशका जनतालाई आन्दोलनमा होमेर आफुहरु काठमाडौंमा आराम साथ बसेको भन्दै उनीहरुलाई मत नदिन कोइरालाले आह्वान गर्नुभयो ।

‘मधेशी दल र माओवादी केन्द्रबाट मधेशको बिकास संभव छैन, एमाले मधेशबिरोधी नै हो, कांग्रेसले मात्र बिकास गर्छ, प्रजातन्त्रको रक्षा गर्छ । त्यसैले मत पनि कांग्रेसलाई मात्र दिनुहोस,’ कोइरालाको भनाई थियो ।आफ्ना पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादी केन्द्र र मधेशवादी दलले समर्थन गर्नु उनीहरुको बाध्यता रहेको पनि उहाँले ठोकुवा गर्नुभयो ।

२९ भाद्र २०७४, बिहीबार १४:१३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *