जनता टाइम्स

११ असार २०७६, बुधबार ०७:५७

चर्को दवावपछि सरकारी सहयोग नलिने बिर्तामोडका मेयर सिवाकोटीको घोषणा


दमक, असार ११

चर्को दबाब परेपछि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले आफ्नो नाममा सरकारले निकासा गरेको ३० लाख आर्थिक सहयोग नलिने घोषणा गर्नुभएको छ । दोहोरो राहत लिन लागेको खुलेसँगै चौतर्फी दबाबमा परेपछि मंगलबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उहाले सरकारबाट प्राप्त आर्थिक सहयोग नलिने बताउनु भएको हो ।

स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति पुगेको भन्दै सिवाकोटीले क्षतिपूर्ति मागेपछि सरकारले मन्त्रिपरिषद्को निर्णयबाट ३० लाख निकासा गरेको थियो । तर, बिमाबाट पहिल्यै क्षतिपूर्ति रकम लिएर सरकारसँग पनि लिएको समाचार प्रकाशित भएपछि उहा ३० लाख नलिने निर्णयमा पुग्नु भएको हो ।

‘मन्त्रिपरिषद्बाट वैशाखमै निर्णय भएको रहेछ, त्यसयता म २–३ पटक काठमाडौं गइसकेँ, तर कसैले पनि मलाई निर्णय भएकोबारे सुनाएनन्, पछि मन्त्री गोकर्ण विष्टले सुनाएपछि मैले थाहा पाएको हुँ,’ पत्रकार सम्मेलनमा मेयर सिवाकोटीले भन्नुभयो, ‘निर्णय भएकै तीन महिना भयो, तर म पैसा लिन गएको छैन र जान्नँ पनि । मलाई नसोधी सीधै मेरो खातामा पैसा आउँदैन, खाता नम्बर सोध्दै कसैले फोन ग¥यो भने चाहिँदैन भन्छु ।’

नेकपा झापाले पनि आफ्ना पार्टीका नेता मेयर सिवाकोटीसँग मंगलबार स्पष्टीकरण लिएको थियो । जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिवालय सदस्य प्रेम गिरी, मोहन टुडुलगायतले बिमाबाट रकम लिइसकेपछि सरकारबाट नलिन दबाब दिएपछि उहा पछि हट्नु भएको हो । स्थानीय बालकको रहस्यमय मृत्युमा मौन बसेको भन्दै आन्दोलित स्थानीयले १० कात्तिक ०७४ मा मेयरको घर र गाडीमा आक्रमण गरेका थिए ।