जनता टाइम्स

१ भाद्र २०७५, शुक्रबार ०७:१५

चोर पकाड्ने नै चोरीको गाडी सहित समातिएपछि


एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो ।

गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पक्राउ गरेको छ । गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा गाडी खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको थियो ।

गाडी खोज्ने क्रममा सैनामैनाका दिलीप बोहाराले आफूसँग गाडी भएको बताएका थिए । बोहोराले रु १५ लाख मागे पनि रु सात लाखमा गाडी खरिद गर्ने कुरा मिलेको थियो । बिक्री गर्न लागिएको गाडी उपलब्ध गराउन बोहोरा र जानकीले प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए । प्रहरी जवान कुमाललाई देख्नेबित्तिकै गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी भाग्न खोजे पछि कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए भने अन्यलाई पिछा गर्दै गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।