जनता टाइम्स

११ असार २०७६, बुधबार १३:३९

एक विद्यार्थी एक तरकारी उत्पादन


स्याङ्जा, असार ११

कालीगण्डकी गाउँपालिका–६ दब्छेमा रहेको ध्रुव ज्योति माध्यमिक विद्यालयका विद्यार्थी सैद्धान्तिक ज्ञानमा मात्र नभएर व्यावहारिक ज्ञानतर्फ आकर्षित हुन थालेका छन् । विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि यहाँका विद्यार्थी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । विद्यार्थीले विद्यालयमा मात्रै नभएर विद्यालय बिदाको दिनमा घरघरमा पनि तरकारी लगाउन थालेका छन् ।

विद्यालयले चलाएको यो अभियानले विद्यार्थीमा श्रम गर्नुपर्छ भन्ने भावनाको विकास भएको प्रष्टै देख्न सकिन्छ । कक्षा १० मा अध्ययनरत छात्रा दीक्षा सारुले आफूहरुले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै मिलेर तरकारी लगाएका छौँ, घरबाट छिटो आएको बेला तरकारी बारीमै हुन्छौँ आफूले लगाएको तरकारी गोडमेल त गर्नै पर्यो नि ।”

कक्षा ९ मा अध्ययनरत प्रकृति भट्टराई आफूले विद्यालयमा मात्रै नभएर घरमा पनि तरकारी लगाउने गरेको बतानुभयो । विद्यालयमा सिकेका कुरालाई घरमा आएर पुनः प्रयोग गर्दा बुझ्न सजिलो भएको भट्टराई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला तरकारी लगाउनेमा खासै चासो थिएन विद्यालयमा सबै साथीहरु, शिक्षक शिक्षिकासँगै काम गर्न थालेपछि आजभोलि फुर्सद भएको समयमा घरमा घरपरिवारसँगै आफूले पनि तरकारी लगाउने गरेका छौँ ।”

विद्यालयले विद्यालयकै चौरमा करेसाबारी निर्माण गरेर तरकारी लगाउने व्यवस्था मिलाएको छ । यही करेसाबारीमा फुर्सदको समयमा शिक्षक विद्यार्थी सबै मिलेर तरकारीसँगै रमाइरहेका हुन्छन् । मौसमअनुसारको तरकारी लगाउनुका साथै आवश्यक बिरुवासमेत करेसाबारीमै विद्यार्थीले उत्पादन गर्ने गर्छन् ।तरकारीमा मानवमूत्रको समेत प्रयोग गरिएको विद्यालयका शिक्षक मनबहादुर थापाले बताउनुभयो ।

थापाले भन्नुभयो, “अर्गानिक तरकारी उत्पादनका साथै विद्यार्थीकै मूत्रलाई मलको रुपमा प्रयोग गर्ने गरेका छौँ ।” प्रत्येक १५ दिनमा सङ्कलन गरिएको मानवमूत्रलाई करेसाबारीमा प्रयोग गर्दै आएको र यसो गर्दा खेर गइरहेको पिसाबको सदुपयोग हुनुका साथै वातावरणमा समेत राम्रो प्रभाव पार्ने थापाको भनाइ छ । गुरुहरुसँगै मिलेर करेसा बारीमा तरकारी लगाउने गोडमेल गर्दा रमाइलो हुने विद्यार्थी बताउँछन् ।

विद्यालयमा गरिएको यो नयाँ अभ्यासले विद्यार्थीको व्यावहारिक जीवनमा परिवर्तन आएको विद्यालयका सहायक प्रधानाध्यापक ढुण्डीराज न्यौपानेले बताउनुभयो । विद्यालयका प्रधानध्यापक हीराबाहादुर गाहाले पढे लेखेकाले कलम मात्र होइन, कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी आफैं उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै तरकारी खेती लगाउने गरेको बताउनुभयो ।

उहाँले “ग्रेड वृद्घि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेको बताउनुभयो ।” विद्यार्थीले विद्यालयको तरकारी बारीमा बोडा, बोडी, काउली, सागलगायत मौसमअनुसारका तरकारी लगाउने गरेका छन् । करीब ३२० विद्यार्थी रहेको ध्रुव ज्योति माविमा अङ्गे्रजी भाषामा पढाइका साथै कम्प्युटर शिक्षासमेत दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला यहाँ भने विद्यार्थीको आकर्षण बढेको प्रअ गाहाको भनाइ छ ।

विद्यालयले फेसबुक अभियानबाट विद्यालयका पूर्वविद्यार्थी एवं सहयोगदाताबाट सहयोग रकम जुटाएर एम्बुलेन्ससमेत खरीद गरेको छ । एम्बुलेन्सले विद्यालयलाई मात्रै नभएर सिङ्गो गाउँलाई नै बिरामी हुँदा सेवा दिइरहेको छ । उत्पादित तरकारी बिक्रीबाट आएको पैसा विद्यालयको पुस्तकालयको लागि खर्च गरिन्छ भने धेरै भएको तरकारी विद्यार्थी तथा शिक्षक शिक्षिकाले बाँडेर घरघरमा समेत लैजाने गरेका छन् ।

प्रत्येक विद्यार्थीले तरकारी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यावहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावकसमेत खुशी भएका छन् । सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीमा आउन थालेको छ । विद्यालयको यो नमूना अभियानले अभिभावकसमेत खुशी भएको विद्यालयका प्रअ गाहाले बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भए तापनि विद्यार्थीलाई उत्पादन र व्यावहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थी विद्यालयप्रति आकर्षित हुन थालेका छन् । कालीगण्डकी गाउँपालिकाको ध्रुव ज्योति माविका विद्यार्थीेलाई एक विद्यार्थीे एक तरकारी उत्पादन कार्यक्रमले नमूना बनाएको छ ।

उनीहरु बिहानै विद्यालय आउने आफूले रोपेको तरकारीको रेखदेख गर्ने र प्रयोगात्मक शिक्षासमेत लिने गर्दा विद्यालयमा तरकारी उत्पादन बढेको छ । किताब कापी लिएर पढ्न विद्यालय आउने विद्यार्थी विद्यालयबाट घर जाँदा बेलुकाको लागि तरकारी लिएर जाँदा अभिभावकमा छुट्टै खुशी छाएको छ ।