जनता टाइम्स

११ असार २०७६, बुधबार १८:३९

नेकपाका नेता–कार्यकर्तालाई आयो अध्यक्षद्वय ओली–प्रचण्डको कडा निर्देशन


आगामी असार १४ गते नेकपाका आम कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक, शुभचिन्तक सवैलाई यस बृक्षारोपन कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन, आफ्नो नीजि घर जग्गा र सार्वजनिक स्थलमा समेत न्यूनतम दुई ओटा बिरुवा रोप्न, आफूले रोपेको बिरुवाहरुको भविश्यमा पनि आवश्यक हेरचाह गर्न र यस अभियानलाई सघाउ पुर्याउन अनुरोध छ

काठमाडौं, असार ११

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा देशब्यापी रुपमा बृक्षरोपन गर्ने भएको छ । सरकारले अघि सारेको बृक्षरेपनको नीतिलाई सघाउन नेकपाले आफ्ना सवै नेता कार्यकर्तालाई अनिवार्य रुपमा बृक्षरोपन गर्न निर्देशनसमेत दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले निर्देशन पत्र नै पठाएर असार १४ बाट सुरु हुने बृक्षरोपनमा अनिवार्य रुपमा सहभागी हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपन दिवस घोषणा गरेको छ । सोही घोषणाअनुसार नेकपाले पार्टीका हरेक सदस्यलाई बृक्षारोपनमा अनिवार्य सहभागी हुन निर्देशन दिएको हो ।

‘आगामी असार १४ गते नेकपाका आम कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक, शुभचिन्तक सवैलाई यस बृक्षारोपन कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन, आफ्नो नीजि घर जग्गा र सार्वजनिक स्थलमा समेत न्यूनतम दुई ओटा बिरुवा रोप्न, आफूले रोपेको बिरुवाहरुको भविश्यमा पनि आवश्यक हेरचाह गर्न र यस अभियानलाई सघाउ पुर्याउन अनुरोध छ,’ अध्यक्षद्वय ओली प्रचण्डको निर्देशनमा भनिएको छ ।

यसैबीच आज नेकपाका २२ ओटै जनसंगठनहरुले पार्टीको निर्देशनलाई कार्यान्वयन गर्न पहलकदमी लिएका छन । नेकपाका सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा आज आयोजित पार्टीका २२ ओटै जनवर्गीय संगठनहरुको संयुक्त भेलाले नेपाल सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सफल पार्नका निम्ति असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको हो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । नेपाल सरकारले यस आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन नेकपा सम्बद्ध जनवर्गीय संगठनहरुद्वारा सरकारको यस निर्णयलाई हार्दिक समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरिएको छ ।