जनता टाइम्स

१२ असार २०७६, बिहीबार १८:०८

प्रेस संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश लम्साललाई मातृशोक


बारा, असार १२

आर्थिक राष्ट्रिय पत्रिका कारोबार दैनिक र ईमेज च्यानलका बारा सम्वाददाता पत्रकार प्रकाश लम्साललाई मातृशोक परेको छ । लम्सालकी आमा टिकामाया लम्सालको बुधबार दिउँसो निधन भएको हो ।

मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित टिकामायाको ८६ बर्षको उमेरमा निजी निवास बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा दिउँसो १ बजेर १० मिनेटमा निधन भएको हो । पञ्चायत कालमा सामाजिक संघ संगठनमा सक्रिय हुनुभएका लम्साल तत्कालिन राजा ज्ञानेन्द्र शाहको हातबाट २०५९ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित हुनुभएको थियो ।

मकवानपुरको भीमफेदी गाउँपालिका रानीखोलामा जन्मिनुभएकी टिकामाया विवाह पछि बाराको पथलैयामा बसोवास बस्दै आउनु भएको थियो । स्थानीय समुदायमा गठन गरिएको आमा समूह मिलन केन्द्र, महिला संगठनको इकाई सभापतिका रुपमा पनि काम गरिसक्नु भएकी टिकामाया लम्सालको सामाजिक काममा ठूलो योगदान रहेको छिमेकीहरुले बताएका छन् ।

उहाँका सन्तान उहाँकै प्रेरणा स्वरुप सामाजिक सेवामा नै सक्रिय रहेका छन् । उहाँको सामाजिक सेवाको देखिएको लगावकै कारणले परिवार नै सामाजिक संघ संस्थामा सक्रिय रहेका छन् । टीकामायाको दुई छोरा र दुई छोरी मध्य एक छोरा प्रकाश लम्साल सञ्चार क्षेत्रमा सक्रिय रहेका छन् । लम्साल प्रेस संगठनका केन्द्रीय सदस्य हुन ।

एक छोरी शुभद्रा लम्साल (न्यौपाने) जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य हुन् भने अर्को छोरा अर्जुन लम्साल होटल तथा पर्यटन व्यवसायी संघ बारा तथा उधोग बाणिज्य संघ दुबैमा उपाध्यक्ष रहेका छन् । अर्की छोरी अमृता लम्साल थापा गृहिणी छिन ।

यसैबीच प्रेस संगठन नेपालले केन्द्रीय सदस्य लम्सालको आमाको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । सो संगठनले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।