जनता टाइम्स

१४ असार २०७६, शनिबार १७:५२

इश्वर पोखरेलको उदघोष : आलोपालो नेतृत्व पार्टीले चिन्दैन, सरकार पाँच वर्ष टिक्छ


सिन्धुली, असार १४

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको दोहोर्याउनु भएको छ ।

जननेता स्वर्गीय मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता पोखरेलले आलोपालोको सहमति आफूहरुले नजान्ने अडान दोहोर्याउनु भएको हो ।

‘ढुक्क हुनुस, प्रधानमन्त्री ओली नेतृत्वको यो सरकार पाँच वर्ष टिक्छ,’ नेकपा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रम पोखरेलले भन्नुभयो, ‘कसको कति समय भन्ने कुरा वास्ता नगर्नुस, जरुरी पर्दा पार्टी कमिटीले जस्तो पनि निर्णय लिन सक्छ ।’ उहाँले दुई नेताबीच भद्र सहमति भएको भन्दै अभद्र तरिकाले चर्चा भएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री परिवर्तन हुने कुराको समाचारले मन अमीलो नबनाउन पनि उहाँले नेता–कार्यकर्तालाई सुझाव दिनुभयो । ‘पार्टी एकता कार्यकर्ता, जनताको चाहना र राष्ट्रिय आवश्यकताअनुसार भएको हो,’ मन्त्री पोखरेलले भन्नुभयो, ‘पार्टी एकता भएपछि विचारहरुलाई व्यवस्थित गर्न जरुरी देखिन्छ ।’