जनता टाइम्स

१५ असार २०७६, आईतवार ०९:४८

एनआरएनएमा बढ्यो चुनावी सरगर्मी : भवन भट्ट, कुल आचार्य र कुमार पन्त अध्यक्षको उम्मेद्वार बन्ने पक्का


काठमाडौं, असार १५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी एकाएक बढेको छ । एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।

चुनाव नजिकिदै जाँदा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो गृहकार्य तीब्र पारेका छन । आठांै विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचित गरेको थियो । अघिल्लो पटक कुमार पन्तलाई आफूपछिको अध्यक्ष बनाउने सहमतिका साथ अध्यक्ष बनेका भट्ट आफ्नो कार्यकालको अन्तिम चरणमा रहनुभएका छ । तर यसबीचमा अध्यक्ष भट्ट र उपाध्यक्ष पन्तबीच मनमुटाव सुरु भएको छ ।

अक्टोबरमा हुने चुनावी तयारीकै क्रममा अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन भइरहेको छ । अमेरिकालगायत कतिपय देशमा चुनाव सकिसकेको छ । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानेको हो । यता एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङकङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रीय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् ।

योसँगै नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन । आगामी महाधिवेशनमा अध्यक्षमा भवन भट्टसहित तीन जना दावेदार देखिएका छन । भट्टले आफू निकटसँग पुनः दोहोरिने बताउनु भएको छ भने उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले अध्यक्षको तयारी सुरु गरिसकेका छन । अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका उपाध्यक्ष पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आउनु भएको छ । तर उहाँलाई अध्यक्ष भट्टले नै कुनै हालतमा नछाडने भन्दै आफू उम्मेद्वार नभएको अवस्थामा समेत पराजीत गर्न लाग्ने घोषणा होटल सोल्टीमै गरिसक्नुभएको छ ।

केहीसमय पहिले एनआरएनएको बिज्ञ सम्मेलनमा एनआरएनएको २ बर्षे कार्यकाल बढाएर ३ बर्षे कार्यकाल बनाउन बर्तमान अध्यक्ष भट्टले प्रस्ताब गरेका थिए । तर, उनको प्रस्तावलाई पूर्वअध्यक्ष लामिछानेको दबाबमा पारित हुन दिईएको थिएन । त्यसपछि बर्तमान अध्यक्ष भट्ट आफु अब एक कार्यकाल अध्यक्ष बन्ने योजना बनाउनु भएको हो । पछिल्लो समय भट्ट र पन्तबीचको सम्बन्ध निकै चिसिएको छ । अध्यक्ष भट्टले आफुले शुरु गरेका कार्यहरु बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्याउने योजना बनाएको उहाँ निकट बताउँछन । यता पन्तलाई जसरी भएपनि अध्यक्ष बनाउन पूर्वअध्यक्ष जीवा लामिछाने लागि गर्नुभएको छ । पन्त आफ्ना ब्यापारिक साझेदार रहेको कारण पनि लामिछाने लागिपर्नुभएको छ ।

अध्यक्षका लागि अर्का उपाध्यक्ष कुल आचार्यले पनि अभियान तीब्र बनाउनु भएको छ । युरोप र अमेरिकामा निकै लोकप्रिय देखिनुभएका आचार्यले झण्डै दुई दर्जन मुलुकका एनआरएनए सदस्यहरुको दवावपछि अध्यक्षको उम्मेद्वारी दिने तयारी थाल्नुभएको हो । साथीहरुले जे भन्छन, त्यही मान्छु, मेरो खासै केही अड्डी छैन भन्दै एनआरएनको काममा लागिपरेका आचार्यमाथि पछिल्लो समय अध्यक्षमै उठन दवाव परेको छ । एनआरएनएमा जे काममा हात हाल्यो, त्यसैमा सफल नेताका रुपमा स्थापित आचार्य उपाध्यक्षमा समेत सवैखाले सिण्डिकेट तोडेर निर्वाचित हुनुभएको थियो । अहिलेसम्म आइपुग्दा भट्ट अध्यक्षमा दोहोरिन चाहेको अवस्थामा तीन उम्मेदवार पक्कापक्की भएको एनआरएनएका एक नेता बताउँछन । भट्टले छाडेको अवस्थामा आचार्य र पन्तबीच नै भिडन्त हुनेछ । ‘भट्टले छाडेको अवस्थामा युरोपकै दुई हस्तीबीच चुनाव हुने पक्कापक्की छ,’ एनआरएनए युरोपका एक सदस्य भन्छन ।

यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईच्छुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । आगामी निर्वाचनमा संख्या बढाएसंगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत आकांक्षी छन । यस्तै महासचिबमा बर्तमान सचिब डीबी क्षेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल र हेमराज शर्माले आकांक्षा देखाएका छन् । सचिबमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी आकांक्षी छन ।

कोषाध्यक्षमा बर्तमान सहकोषाध्यक्ष सोम सापकोटा, मध्यपुर्ब संयोजक आरके शर्मा र एनआरएनए जापानबाट महेश श्रेष्ठको नाम चर्चामा ल्याइएको छ । यस्तै एसी शेर्पा सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् ।

राजनीतिक प्यानल बनाएर चुनाव लड्न रोक

गैरआवासीय नेपाली संघ (एनआरएर्न) ले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको छ । एनआरएनमा राजनीतिक र जातीय प्रभाव पर्न थालेको टिकाटिप्पणी भइरहेको बेला संघको अन्तराष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार गर्दै यस्तो कार्यमा रोक लगाएको हो ।

‘राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचार गर्न पाइने छैन,’ नियमावलीको बुँदा नम्बर ५.१० मा भनिएको छ । सो व्यवस्थाको उलंघन गरेको पाइए निर्वाचन समितिले छानबिन गरी मनोनयन रद्द गर्न सक्नेसम्मको व्यवस्था गरिएको छ ।