जनता टाइम्स

१५ असार २०७६, आईतवार १३:१३

म्याग्दीका ४५ मध्ये ३३ वडामा हेलिप्याड निर्माण


ध्रुवसागर शर्मा

गलेश्वर, असार १५

हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो ।

आठ महीनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमीन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ ।

अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । “म्याग्दीका सबै वडामा आगामी तीन वर्षभित्रमा हेलिप्याड बनाइसक्ने योजना बनाएका थियौँ तर आठ महीनामा नै ३३ वटा बनिसकेका छन् । अब दसैंसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिनेछ”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुङ्गेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नसक्ने नाइटभिजन हेलिप्याड निर्माण भएको छ । पुलाचौरको धार्मिकस्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मङ्गला गाउँपालिकाको हिदी, कुहुँ र बरङ्जामा हेलिप्याड निर्माण भएको छ ।

मङ्गलाको दुई वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगङ्गाको पिप्ले र दग्नामबाहेकका सबै वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै अस्पताल पुर्याउन सहज हुने प्रजिअ अधिकारीले बताउनुभयो । हेलिप्याड निर्माणले धवलागिरि, अन्नपूर्ण, गुर्जा, पुथालगायत म्याग्दीमा हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुविधा पुग्ने जनाइएको छ ।

हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगलागीका साथै दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत तत्कालै अस्पताल पुर्याउन सकिने अपेक्षा गरिएको छ । सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमङ्गले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् । रासस