जनता टाइम्स

१५ असार २०७६, आईतवार १४:३६

आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न : प्राज्ञ श्रेष्ठ


काठमाडौँ, असार १५

विश्वबाट वनस्पतिसँगै परम्परागत ज्ञानको समेत लोप हुने खतरा बढेकाले यसको जर्गेनाका लागि विश्व समुदाय नै अग्रसर बन्नुपर्ने विचार वनस्पति विज्ञ प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले व्यक्त गर्नुभएको छ । राजधानीमा आइतबार आयोजित ‘नेवाः नखःचखः व संस्कारय् वनस्पति’ (नेवाः चाडपर्व र संस्कारमा वनस्पति) नामक पुस्तकको लोकार्पण कार्यक्रममा प्राज्ञ श्रेष्ठले वनस्पतिमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै भन्नुभयो, ‘बोटविरुवा रोप्दैमा प्रकृति जोगिन्छ भन्ने छैन । स्थानीय रैथाने वनस्पतिको अन्त्य गरेर आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न ।”
प्राज्ञ श्रेष्ठका अनुसार स्थानीय महत्वका वनस्पतिले सिङ्गो मुलुकको पहिचान बोकेको हुन्छ । नेपाली भूमिबाट सङ्कलित वनस्पतिले विश्वमा पृथक पहिचान राख्न सकेको र यसले थप अध्ययनका सम्भावनाहरु खोलेको बताउँदै उहाँले भन्नुभयो, “भाषा, संस्कृति र संस्कारले पनि वनस्पति संरक्षण गर्न जोड दिन्छ । बाहिरबाट ल्याइएको वनस्पतिले संस्कृति र संस्कारका साथै भाषामाथि नै खतरा निम्तिन्छ । यसका लागि दीर्घकालीन सोच बनाई अघि बढ्नुपर्छ ।”

नेपाल भाषामा लेखिएको उक्त पुस्तकमाथि टिप्पणी गर्दै प्रा. डा. ओमकारेश्वर श्रेष्ठले नेपालभाषा, नेपाली र अंग्रेजीका साथै वैज्ञानिक नाम समेत उल्लेख गरिएको यो पुस्तक नेवार सभ्यताको ज्ञानको परिचायक हो भन्नुभयो । लेखिका डा. निर्मला जोशीले वनस्पतिलाई बोटविरुवाको भन्दा पनि प्रकृति र विज्ञानको सङ्गमको रुपमा लिनुपर्ने बताउनुभयो ।

समुदायमाझ प्रयोगमा रहेको वनस्पतिले ज्ञान र सभ्यतामाथि प्रकाश पार्ने बताउँदै उहाँले भन्नुभयो, “योजनाबद्ध रुपमा यसलाई अघि नसारेको खण्डमा भोलिका दिन सिङ्गो मुलुकबाट वनस्पति लोप हुनेछ ।” कार्यक्रममा पुस्तकका अर्का लेखक प्रा.डा. सुन्दरकृष्ण जोशीले पनि पुस्तकबारे चर्चा गर्नुभएको थियो ।