जनता टाइम्स

१६ असार २०७६, सोमबार १०:१७

सहमतिपछि काठमाडौंको फोहोर उठ्न थाल्यो


काठमाडौं, असार १६

विगत एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर उठ्न थालेको छ । काठमाडौं महानगरपालिका, स्थानीय जनप्रतिनिधि र आन्दोलनरत सिसडोलवासीबीच तीन बँुदे सहमति भएपछि सोमबार बिहानबाटै काठमाडौंको फोहोर उठ्न थालेको हो ।

नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक सातादेखि बन्द गरेका थिए। ‘ल्याण्डफिल्ड साइड’का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ।

सोमबार भएको वार्तामा स्थानीयको माग सम्बोधन गर्नका लागि मुआब्जा वितरणको मापदण्डको सुझाव पेस गर्न १७ सदस्यीय समिति गठन भएको छ। समितिलाई १५ दिनको समय दिइएको छ। यसअघि शनिबार दुव पक्षबीच वार्ताकै क्रममा झडपसमेत भएको थियो। वार्तामा कुरा नमिलेपछि काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको हो। झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका थिए।

आइतबार अबेर गरी सहमति भएपछि ७ दिनपछि काठमाडौंको फोहोर उठ्न थालेको हो। काठमाडौंमा संकलन हुने दैनिक ३ सय टिप्पर फोहोर सिसडोलमा फालिन्छ।