जनता टाइम्स

१६ असार २०७६, सोमबार १०:४३

मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान, जनसंगठन नेताले पाए भ्रमण दलमा प्राथमिकता


काठमाडौं, असार १६

प्रदेश ५ का मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायीकमिटी सदस्य शंकर पोखरेल चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पोखरेलको यो नै पहिलो विदेश भ्रमण हो।

मुख्यमन्त्री पोखरेलले चीन भ्रमणका क्रममा गरिबी निवारण तथा विकास सम्बन्धी कार्यक्रममा सहभागिता जनाउनु हुनेछ । भ्रमणबाट नेपाल र चीनका सहरबीच भगिनी सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। गत जेठ २० गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री पोखरेलको चीन भ्रमण स्वीकृत गरेको थियो। पोखरेल नेतृत्वको टोली असार २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री पोखरेलको भ्रमण टोलीमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेशसभा सदस्य हरि रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीसहित नेकपाका जनसंगठनका नेता कार्यकर्ता रहेका छन ।