जनता टाइम्स

१८ असार २०७६, बुधबार ११:३१

चिनिया राष्ट्रपति सीलाई नेपाल भ्रमणको पहल गर्दै परराष्ट्रमन्त्री ज्ञवाली : आज समकक्षी वाङसँग वार्ता


बेइजिङ, असार १८

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच नेपाल चीनको समग्र विषयमा छलफल हुने भएको छ। गृष्म डाभोस मञ्चमा सहभागी हुन चीन पुगेका मन्त्री ज्ञवालीले आज साँझ चिनिया समकक्षीसँग भेट गर्ने कार्यक्रम तय भएको हो ।
भेटबार्तामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि र त्यसपछि भएका भ्रमणको समग्र दुईपक्षीय सम्बन्ध बारेमा छलफल हुने नेपाली प्रतिनिधिमण्डलले जनाएको छ । पटकपटक चीन आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङसँग चिनिया राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको बारेमासमेत छलफल गर्नेुहुनेछ ।

नेपालले लामो समयदेखि चिनियाँ राष्ट्रपति सीको भ्रमणको प्रतिक्षा गरिरहेको विषयलाई मन्त्री ज्ञवालील्े वाङमार्फत पुनः दोहोर्‍याउनु हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसियटिभको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुग्दा पनि समकक्षी सिलाई नेपाल भ्रमणको लागि आग्रह गर्नुभएको थियो ।

यसैबीच मन्त्री ज्ञवाली डालियान पुगेर गृष्म डाभोसको दोस्रो दिनका कार्यक्रममा सहभागी हुनुभएको छ । मंगलबार बिहान आयोजित विश्व आर्थिक मञ्चमा ‘जलवायु परिवर्तनः अर्को वित्तीय संकट’ शीर्षकको सत्रमा परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्नुभएको हो । उहाँले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावको सामना गर्न अन्तर्राष्ट्रिय स्तरमा सहयोग बढाउन आग्रह गर्नुभयो ।

‘नेपालबाट कार्बन उत्सर्जन अति कम मात्रामा भइरहे तापनि नेपालले विषम र असंगत रुपमा त्यसबाट हुने असर भोगिरहेको छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘यस सन्दर्भमा जलवायु न्यायको प्रवद्र्घन आवश्यक छ र प्रविधिसम्मको पहुँच सहज बनाउनु पर्छ।’

मंगलबार दिउँसो नै भएको ‘भूराजनीतिक बदलाव’ सत्रमा परराष्ट्रमन्त्री ज्ञवाली प्यानालिस्टको रुपमा सहभागी हुँदै भूराजनीतिक जटिलता तथा अनिश्चितता बढ्दै गएको उल्लेख गर्दै स्थायी विश्व शान्ति सुनिश्चित गर्नका लागि विभिन्न राष्ट्रबीच आपसी विश्वास र समझदारीका साथै सहकार्य र सहयोगात्मक प्रयासलाई गहन स्तरमा बढाउन जरुरी रहेको औंल्याउनु भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्राण्डसँग भेट गर्दै नेपाल र विश्व आर्थिक मञ्चबीच विशेषत अनुसन्धान तथा क्षमता निर्माणको क्षेत्रमा थप सहयोग बढाउने विषयमा छलफल गरेको चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।