जनता टाइम्स

१८ असार २०७६, बुधबार १७:२५

एनआरएनए आइसिसी सचिवमा विनय अधिकारीले गरे उम्मेद्वारी घोषणा


बेलायत, असार १८

गैर आवासीय नेपाली संघ –एनआरएनए) एनसीसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले सचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । आगामी अक्टोबरमा नेपालमा हुने निर्वाचनमा अधिकारी सचिवका दावेदार बन्नुभएको हो । बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल गैरआवासीय नेपाली संघ यूकेको उपमहासचिव हुनुहुन्छ । अदम्य आँट, उर्जा र दृढ स्वभावका अधिकारी आफ्नो कार्यकालमा अग्रणी छवि कायम गर्न सफल पनि हुनुभएको छ ।

सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि हुनुहुन्छ । डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित हुनुहुन्छ ।

बेलायतमा रहेका गैरआवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आउनुभएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार हुनुहुन्छ । गैरआवासीय नेपाली संघ केबल एक संस्था मात्र नभई विश्वभरका नेपालीलाई समेटदै नेपाल र नेपाल बाहिरको नेपाल जोडने बलियो पुल बन्नुपर्ने मान्यतामा अडिग अधिकारी केन्द्रीय कार्यसमितिमा रही आफ्ना अनुभवलाई कार्यान्वयनमा रुपान्तरण गर्ने योजनाका साथ सचिवमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहनुभएका अधिकारी छोटो समयमा फडको मार्न सफल प्रेरणादायी ब्यक्ति रहेको आम एनआरएनएका सदस्यहरुको बुझाइ छ । डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।

चितवन एड ट्रस्टमा महत्वपूर्ण भूमिका खेलेका उहाँ सन २०१५ देखि ग्लोबल गोर्खा समाज नेटवर्कमा समेत आवद्ध हुनुहुन्छ । एनआरएनए यूकेमा निर्वाचनका लागि १० हजार पञ्जिकृत सदस्य बनाउने बृहत अभियानमा जुटनुभएका अधिकारी स्मार्ट एण्ड डिजिटल एनआरएन बनाउने प्रयासमा रहेको बताउनु हुन्छ । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड तथा वेल्समा पनि एनआरएनए क्षेत्रीय समित गठनमा उहाँको महत्वपूर्ण भूमिका रहेको बेलायतमा रहेका नेपालीको बुझाइ छ ।

गैर आवासीय नेपालीको नागरिकता, गैरआवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे गत मे २५ मा बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गर्नुभएका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिनुहुन्छ । केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाउनु भएका उर्जाशिल युवा अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार मानिनुहुन्छ ।

‘चुनावमा सवैको साथ र सहयोग रहन्छ भन्ने बिश्वाश छ, अहिलेसम्म जे काम गरेको छु, सवैमाझ छर्लंग छ, त्यसैले सवैको सुझावअनुसार सचिवमा उम्मेदवारी दिने निर्णय लिएको हो,’ जनताटाइम्स डटकमको जिज्ञासामा अधिकारीले भन्नुभयो ।