जनता टाइम्स

६ भाद्र २०७५, बुधबार १३:०९

खर्च अभावमा बीएन्डसी अस्पतालले अाईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज


झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई मंगलबार डिस्चार्ज दिएको हो ।

उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । त्यसपछि अचेत अवस्थामै घर लिएर आएको बिरामीका भाइ उमेश तामाङले बताए । पीडित परिवारले उपचार खर्चबापत करिब १५ लाख रुपैयाँ बुझाउनुपरेको छ । बिरामीका अर्का भाइ देवेन्द्र तामाङले १७ दिनमा अस्पतालमा १० लाख ५० हजार र औषधिबापत फार्मेसीमा ४ लाख २३ हजार रुपैयाँको बिल उठेको बताए ।

बिरामीका आफन्तले सुरुमा ३ लाख ५ हजार रुपैयाँ डिपोजिट गरेका थिए । डिस्चार्ज दिँदा थप ७ लाख ४९ हजार गरी १० लाख ५० हजार रुपैयाँ अस्पताललाई बुझाएको देवेन्द्रले बताए । फार्मेसीमा १ लाख ८७ हजार रुपैयाँ बुझाएको र अब २ लाख ३६ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उनले बताए । बाँकी रकममध्ये ७६ हजार छुट गरी १ लाख ६० हजार रुपैयाँ १० दिनभित्र बुझाउने सहमति भएको देवेन्द्रले बताए ।