जनता टाइम्स

१९ असार २०७६, बिहीबार १६:३५

नेकपा प्रवेश गर्ने डन दिपक मनाङ्गे होइन, जनताका सेवक राजीव गुरुङ हुन : मुख्यमन्त्री गुरुङ


पोखरा, असार १९

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले काठमाडौंतिरका डन दिपक मनाङ्गे नभई जनताका सेवक राजीव गुरुङ नेकपामा प्रवेश गरेको प्रष्ट पार्नुभएको छ ।

मनाङ जिल्लाबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्यमा बिजयी हुनुभएका मनाङ्गलाई पार्टी प्रवेश गराउँदै मुख्यमन्त्री गुरुङले सो उदघोष गर्नुभएको हो । मनाङ्गे आज बिहान नेकपा प्रवेश गर्नुभएको थियो । उहाँलाई मुख्यमन्त्री गुरुङले अविर र माला लगाएरु पार्टीमा स्वागत गर्नुभएको हो । मनाङ्गेसँगै नेत्रबिक्रम चन्द (विप्लब) समुहका कास्की सचिवालय सदस्य पुष्प कार्कीलाई पनि मुख्यमन्त्री गुरुङले नेकपामा भित्र्याउनु भयो ।

सो अवसरमा उहाँले ठमेलतिर भन्ने गरिएको मनाङ्गेलाई नभई मनाङका जनताका प्रिय नेता राजीब गुरुङ पार्टी प्रवेश गरेको बताउनु भयो । ‘कसैले विगतबाट सच्चिएर समाजसेवा र राष्ट्रको सेवा चाहन्छ भने नेकपाले जहिल्यै जो कोहीलाई स्वागत गर्छ, सुध्रिएर समाज सेवामा लाग्नु आफैमा राम्रो पक्ष हो,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले जनताको सेवा गरेकै कारण निर्वाचन जितेको यथार्थ भुल्न नहुनेतर्फ सवैको ध्यानाकर्षढा गराउनु भयो ।

प्रदेश सांसद राजीबलाई सच्चा कम्यूनिष्ट बनाउनका लागि पार्टी तहका सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । गुरुङ नेकपा प्रवेशसँग गण्डकी प्रदेशमा नेकपा सरकारको दुई तिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेश सभामा यसअघि नेकपाको ३९ सदस्य रहेको थियो । गुरुङ प्रवेश गरेपछि दुई तिहाई पुगेको हो ।