जनता टाइम्स

१९ असार २०७६, बिहीबार १९:१५

सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका पूर्वआइजीपी ठकुरी डिल्लीबजार कारागार चलान


काठमाडौं, असार १९

नेपाल प्रहरीका प्रर्वआइजीपी रमेश चन्द ठकुरीले सर्वाेच्च अदालतमा आत्मसमर्पण गर्नुभएको छ । सुडानको डार्फर मिसनमा भ्रष्टाचार भएको प्रकरणमा जेल सजाय सुनाइएका पूर्वआईजीपी ठकुरीले सर्वोच्च अदालतमा आज आत्मसमर्पण गरेका छन ।

सर्वोच्च अदालत सम्बद्ध ट्रेड युनियनका सचिव हरि भट्टराईका अनुसार चन्दले आज दिउँसो सर्वोच्चमा आई आत्मसमर्पण गर्नुभएको हो । आत्मसमर्पणलगत्तै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । २०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौ जनालाई जेल सजायको फैसला सुनाएको थियो ।

फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो । फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको हो । ठकुरीबाहेकका राणा, गुरुङ र तत्कालीन एआईजी दीपकसिंह थाङदेन, डीआईजी दीपक श्रेष्ठ हाल डिल्लीबजार सदरखोर थुनामा हुनुहुन्छ । ठकुरीलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना गरेको थियो ।

सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।