जनता टाइम्स

२१ असार २०७६, शनिबार १०:४३

नेपाली सेनाको पुराना हतियार बिस्थापित गर्दै ओली सरकार : यस्तो छ गृहकार्य


काठमाडौं, असार २१

सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सेनाको आधुनिकीकरण, सबलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य अघि बढाउनु भएको हो ।

पुराना हतियार बिस्थापनको नीतिअनुसार २ अर्बभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनिक अमेरिकी हतियार ल्याउने प्रक्रिया अघि बढिसकेको छ । पुराना हतियारका ठाउँमा नयाँ हतियारले क्रमिक रूपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल सुरु गरेसँगै पुराना हतियार बिस्थापनको नीति लिनुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सेनालाई आधुनिकीकरण गर्दै अघि बढ्ने सरकारको योजना रहेको प्रष्ट पार्नुभयो । ‘पुराना हतियार बिस्तारै विस्थापित गर्नेछौं, अबको सेना अत्याधुनिक र प्रविधिमैत्री हुनैपर्छ,’ मन्त्री पोखरेलले भन्नुभयो । मुलुकको बढ्दो सुरक्षा चुनौती अपराधका घटनामा आएका विविधता, प्राकृतिक तथा मानवीय दुर्घटनामा भइरहेको वृद्धिलाई ध्यान दिएर सेनालाई थप चुस्त पार्न लागिएको उहाँको भनाई छ ।

ठूला र रणनीतिक महत्त्वका पूर्वाधार निर्माणमा समेत नेपाली सेना खटिएका छन । मन्त्री पोखरेलकै पहलमा सेनालाई थप बलियो र चुस्त पार्न सैनिक ऐन २०६३ मा समेत समसामयिक परिवर्तन र सुधार गरी सैनिक सेवालाई थप आकर्षक र मयार्दित बनाउने नीति अघि बढेको छ । शान्ति सेनामा सैनिक खटाउने कार्यलाई थप निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन जारी गरिएको ‘शान्ति सेना छनोट कायविधि–२०७५’ मा एकपटक पनि मिसनमा सहभागी नभएकालाई प्राथमिकतामा राखी छनोट गर्ने प्रावधानले सेनाभित्र उत्साह थपिएकाले पनि आधुनिकीकरणमा सहज हुने बुझाइ सरकारको छ ।

सैनिक मुख्यालयले सैन्य संरचना ठूलो बनाउने भन्दा पनि चुस्त र प्रविधियुक्त सैन्य आवश्यक रहेको जानकारी गराएपछि रक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको अधिकारीहरुले बताएका छन । भविष्यमा प्रविधिको विकास र विस्तारसँगै नेपाली सेनाको संरचनामा समयानुकूल परिवर्तन गर्ने गृहकार्यमा पनि ओली सरकार लागेको छ । सरकारले पहिलो चरणमा करिब एक अर्बको र दोस्रो चरणमा त्यसको दुई गुना बढी हतियार ल्याउने तयारी गरेको स्रोतले बतायो । रक्षास्रोतका अनुसार पहिलो चरणको भुक्तानीदेखि सबै प्रक्रिया पूरा भइसकेको छ । जसमा एम–१६ र एम–४ हतियार तथा पेस्तोलसमेत रहेका छन ।

तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघ १९ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्थ गरेपछि भारत, अमेरिका र बेलायतले सैन्य सहायता रोक्का गरेको थियो । सो घटनापछि नेपालमा पहिलोपटक आधुनिक हतियार भित्रन लागेको हो । सेनाले एम–१६ सहित बेलायतमा निर्मित एसएलआर र भारतमा निर्मित इन्सास राइफल चलाउँदै आएको छ । इन्सासको तुलनामा एसएलआर भरपर्दो मानिए पनि समयसापेक्ष सैन्य क्षमता विस्तारका लागि एम–१६ र त्यसभन्दा माथिका शक्तिशाली हतियार आवश्यक देखिएकोे सैन्य अधिकारीको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल सुरु गरेसँगै पुराना हतियार बिस्थापनको नीति लिनुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सेनालाई आधुनिकीकरण गर्दै अघि बढ्ने सरकारको योजना रहेको प्रष्ट पार्नुभयो । ‘पुराना हतियार बिस्तारै विस्थापित गर्नेछौं, अबको सेना अत्याधुनिक र प्रविधिमैत्री हुनैपर्छ,’ मन्त्री पोखरेलले भन्नुभयो

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अघिल्लो असारमै अमेरिकाबाट हतियार किन्ने गरी रक्षा मन्त्रालयमा खाका पेस गर्नुभएको थियो । अमेरिकाबाट हतियार ल्याउन प्रक्रियाका कारण समय लागेको छ । हतियार खरिदमा समय लागे पनि अन्य आधुनिकीकरणका लागि आवश्यक प्रशिक्षण दिने र सबल बनाउने योजनाअनुसार काम अघि बढिरहेको रक्षा मन्त्रालयको भनाई छ ।

सरकारले यसकै लागि दुईपक्षीय सैन्य अभ्यासदेखि सेनाभित्र आन्तरिक प्रतिस्पर्धात्मक अभ्याससमेत गरिरहेको छ । नयाँ सैन्य क्षेत्र चुस्त बनाउन नयाँ प्रविधि भित्र्याउने काम पनि सेनाले गरिरहेको छ । शान्ति मिसनमा जाने सेनाले अन्तराष्ट्रिय अभ्यास बुझेर आउने हुनाले उनीहरुलाई नयाँ हतियारमा अभ्यस्त पार्न सहज हुने ठहर सेनाको छ ।