जनता टाइम्स

२४ असार २०७६, मंगलवार १०:३८

थुनुवा फरार प्रकरण : एसपी दुर्गा सिंहको नेतृत्वमा छानविन समिति, इन्सपेक्टर र इञ्चार्ज निलम्बनको तयारी


काठमाडौं, असार २४ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि ड्युटी अफिसर र इन्चार्जलाइ निलम्बन गर्ने तयारी गरिएको छ। मंगलबार राति ड्युटीमा रहेका प्रहरी र इन्चार्जलाई महानगरीय प्रहरी कार्यालयमा बोलाएर सोधपुछ कार्य गरिरहेको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

‘उनीहरुलाई हामीले कार्यालयमा बोलाएका छौं। डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बन गरेर थप अनुसन्धान अघि बढाउँछौं। रातिको डिउटीमा रहेका डिउटी अफिसर र इन्चार्जलाई कारबाही हुन्छ,’ ज्ञवालीले भन्नुभयो ।

महानगरीय प्रहरी प्रभाग भैसेपाटीका प्रमुख इन्स्पेक्टर किरण मल्ल सहित ड्युटीमा लापरबाही गर्ने प्रहरीमाथी कारबाहीको तयारी अघि बढाइएको हो । एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा छानबिन समिती गठन गरिएको छ। गए राती प्रहरी प्रभाग भैंसेपाटीबाट विभिन्न मुद्दामा थुनामा रहेका रविनकुमार तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गरी तीन जना थुनुवा कक्षको ग्रील तोडेर फरार भएका थिए।

फरार भएका तिमिल्सेना लागुऔषध मुद्दामा र अन्य दुई जना डाका चोरी मुद्दामा थुनामा थिए। उनीहरुको खोजीका लागि उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको छ।