जनता टाइम्स

२६ असार २०७६, बिहीबार १८:०८

साझा यातायातका रात्रिकालीन बस सेवा शुरु, यी रुटमा चल्छन रात्री बस


सञ्चिता घिमिरे/काठमाडौं

साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् ।

तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ ।

बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन् । यात्रुलाई रात्रिसेवाका बारेमा जानकारी नभएकाले अहिले यी बसमा यात्रु सङ्ख्या कम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुले जानकारी पाएपछि विस्तारै बढ्दै जानेछ ।” अहिले परीक्षणका रुपमा तीन वटा बसबाट शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यात्रुको सुविधालाई ध्यान दिएर सेवा थप गरिरहेका छौँ ।”

काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्य बढाउँदै गएको साझाले जनाएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकालगायतले साझाको सेयर खरीद गरेको व्यवस्थापक पाण्डेयले बताउनुभयो । उहाँका अनुसार संस्थाले प्रदेश नं ३ कामनपा र ललितपुर महानगरपालिकासँगको सहकार्यमा रु ४५ करोडमा विद्युतीय बस खरीद गर्ने भएको छ । विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ सरकारबाट रु ३० करोड, काठमाडौँ महानगरपालिकाबाट रु १० करोड, ललितपुर महानगरपालिकाबाट दुई करोड ५० लाख र साझा आफैँले रु दुई करोड ५० लाख सेयर लगानी गरेर विद्युतीय बस खरीद गर्ने निर्णय भएको हो ।

विसं २०७० मा सेवा शुरु हुँदा पहिले नगर केन्द्रित साझाका बस अहिले काठमाडौँका ग्रामीण क्षेत्रसम्म विस्तार भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाका अझै धेरै पालिकाले साझासँग सहकार्य गर्न चाहेका छन् ।” अघिल्लो साता मात्रै काठमाडौँ महानगरपालिका र साझा यातायातसँगको सहकार्यमा ‘यूरो ४’ मापदण्डका २० नयाँ बस भित्र्याएको थियो । बस भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन भइरहेका छन् । यी बस भक्तपुरको नयाँ र पुरानो दुवै बाटो हुँदै परिक्रमा गर्ने गरी रुट अनुमति लिएर सञ्चालन भइरहेको संस्थाका प्रबन्धक पाण्डेयले बताउनुभयो । नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्गमा बस सञ्चालन शुरु भएको थियो ।

दुईदशक पहिलेसम्म सबैभन्दा भरपर्दाे र विस्तार भएको सेवा प्रदायकका रुपमा साझा यातायात रहेको थियो । बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन विभिन्न कुराको शुरुआत गर्दै आएको छ । ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्यष्ेठ नागरिकमैत्री बसको शुरुआत साझाले गरेको हो । विसं २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः शुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ ।

अहिलेसम्म पेट्रोलियम पदार्थबाट चल्ने बसहरु मात्रै भित्र्याइरहेको संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विद्युतीय बससमेत खरीद र सञ्चालनको तयारीसमेत गरिरहेको छ । रासस