जनता टाइम्स

२८ असार २०७६, शनिबार १०:५३

पारसको किर्तिमानी अर्धशतकमा नेपालद्वारा मलेसिया पराजित


काठमाडौं, असार २८

कप्तान पारस खड्को किर्तिमान अर्धशतकसँगै नेपालले मलेसियाविरुद्ध सात विकेटको सहज जित निकालेको छ । पहिलो टि–ट्वान्टी क्रिकेटमा मलेसियाले दिएको १२८ रनको लक्ष्य नेपालले ९ बल बाँकी छदै ३ विकेट गुमाएर भेटाउन सफल भएको हो ।

नेपालका लागि कप्तान खड्काले अन्तर्राष्ट्रिय टि–ट्वान्टीमा पहिलो अर्धशतक बनाए । पारसले ५० बलमा ८ चौका र ५ छक्का सहित अविजित ८६ रन बनाए । टी ट्वान्टीमा नेपालबाट पारस एकै इनिङमा ब्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । पारसले सुवास खकुरेलको सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्धको ५६ रनको रेकर्ड तोडेका हुन् । यसअघि नेपालका ओपनर प्रदीप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भएका थिए । यस्तै, शरद भेष्वाकर २० बलमा १६ रन बनाएर अविजित रहे । उनले छक्का प्रहार गर्दै नेपाललाई विजयी बनाएका हुन् ।

यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।मलेसियाका लागि भिरनदिप सिंहले सर्वाधिक ५७ रन बनाए । उनले ४७ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी घरेलु टोलीका लागि कप्तान अहमद फैजले ३९ बलमा ४५ रन बनाउनु बाहेक अन्यले खासै उल्लेख्य प्रर्दशन गर्न सकेनन् । नेपालका करन केसीले सर्वाधिक ३ विकेट लिए । उनले अन्तिम ओभरमा तीन रन दिएर तीन विकेट लिएका थिए । यस्तै, बसन्त रेग्मी र सन्दिप लामिछाने दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपालले दोस्रो खेल आइतवार खेल्नेछ ।