जनता टाइम्स

२९ असार २०७६, आईतवार ०६:०३

भारतसामु झुकेन सरकार, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो


सुनसरी, असार २९

निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ ओटै ढोका खोलिएको छ । शनिबार राति ९ बजेको मापन अनुसार सप्तकोशीमा पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानाकारी दिनुभयो । सो बहाव घटेर आज बिहान भने ३ लाख १६ हजार क्यूसेक प्रतिसेकेन्ड रहेको छ ।आज बिहान ६ बजे गरिएको मापनमा पानीको बहाव हिजो रातीको भन्दा घटेको हो । पानीको बहाव घटेपनि खतराको सूची भन्दा निकै माथि रहेकोले ५६ ओटा नै ढोका खोलिएको छ ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ । भारतले बिहार जलमग्न भएको भन्दै ३६ ओटा ढोका खोल्दा नै बन्द गर्न दवाव दिँदै आएको थियो । तर ब्यारेज खतरामा पर्नै भन्दै सवै ढोका खोलिएको हो ।