जनता टाइम्स

३१ असार २०७६, मंगलवार १०:१८

राष्ट्रपतिको बदनाम गराउने मोहरा बने सरोज खनाल : शौचालयमा बसेर गरेका थिए फोटोसेसन


काठमाडौं, असार ३१

चलचित्र विकास बोर्डले २७ असारमा राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहलाई लिएर केही विवाद श्रृजना गराउन खोजिएको छ । कतिपय कलाकारले आफुले पुरस्कार पाउन नसकेपछि आक्रोश पोखेका छन् भने कतिपयले भने अनुसारको सम्मान पाउन नसकेपछि कसैको घरमा नाच्न लगाएको भनेर सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् ।

यसैक्रममा १६ वर्ष अमेरिकामा बसेर नेपाल फर्किएका अभिनेता सरोज खनालले भने ट्वाइलेटमा बसेका फोटो खिचेर सार्वजनिक गर्नुभएको छ । उहाले आफुहरुलाई बस्ने ठाउ समेत नदिएको भनेर व्यङ्ग गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बसेका थिए । तर, प्रस्तुति दिने ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाँही ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसें । के गरूँ आफ्नै क्षेत्रको दुर्दशा दर्शकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ । तर, मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु’, भन्दै नायिका करिश्मा मानन्धरको स्टाटसमा खनालले पोष्ट गर्नुभएको थियो ।

यो प्रतिक्रिया भाइरल भएपछि चलचित्र विकास बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै सो प्रकरणलाई स्पष्ट पारेको छ । अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको शौचालयमा बसेर व्यंग्यात्मक शैलीमा फोटोसेसन गरेर ठहर बोर्डले गरेको छ । राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रूपमै खिचिएको बोर्डले ठहर छ ।

कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारलाई कुनै असुविधा नहोस् भनेर बोर्डका अधिकृत तहका चार जना कर्मचारीसहित १० जनाकर्मचारी कलाकारको सेवामा रहेको र कलाकारलाई सो क्रममा खाजासँगै पिउने पानी प्रशस्त उपलब्ध गराएको बोर्डले स्पष्ट पारेको छ, ‘सो क्रममा कर्मचारी पनि कलाकारसँगै प्रतीक्षा कक्षमै थिए ।अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनै पनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकार मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्डले स्पष्ट पारेको छ, ‘साथै, कार्यक्रम अवधिभर कुनै पनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनुपर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्छ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभाहलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाइएको र उहाँहरूले पनि हलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराइएकाले त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ ।’ तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको बोर्डले जनाएको छ । पुरस्कार समारोहमा कमीकमजोरी भएको भए त्यसमा क्षमा माग्दै आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिष्कृत गर्दै जाने प्रतिबद्धता बोर्डले विज्ञप्तिमार्फत जाहेर गरेको छ ।

बोर्डको विज्ञप्तिपछि नायक खनालले पनि कसैलाई आक्षेप लगाउनु भन्दा पनि भविष्यमा यस्ता कार्यक्रम गर्दा अलि ब्यवस्थित होस भन्ने आग्रह मात्र रहेको प्रतिक्रिया दिनु भएको छ । ‘नियोजीत रुपमै मैले यो फोटो खिचेको भन्ने आरोप लागे पछी मैले फेरि बोल्न करै लाग्यो, मेरो कुनै ब्यक्ति विशेष वा संघसस्थालाई आक्षेप लगाउनु भन्दा पनि भविस्यमा कार्यक्रम गर्दा अलि ब्यवस्थित होस भन्ने आग्रह मात्र थियो !!! धन्यवाद’, खनालले भन्नुभएको छ ।