जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १७:१७

नेपाल रेडक्रसको अनुमान : बाढी–पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित


काठमाडौं, साउन २ । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ ।

प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक÷एक जना विशेषज्ञले काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धीकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ ।