जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १७:४१

वायुसेवा निगमको व्यवस्थापन सञ्चालन करारमा दिने तयारी


सिबी अधिकारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।

निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

“व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उहाँले भन्नुभयो । व्यवस्थापन करारमा जान व्यवस्थापन समितिले ग्लोबल टेन्डर आह्वानका लागि तयारी गर्न निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले आवश्यक कागजपत्र र प्रक्रिया पूरा गरेपछि एक साताभित्रै निगम व्यवस्थापकले सञ्चालक समितिको बैठकमा प्रस्ताव लैजाने जनाइएको छ । सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि त्यो प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने छ । मन्त्रालयले पेश गरेको सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र निगम व्यवस्थापन करारका लागि ग्लोबल टेन्डर आह्वान गर्ने बाटो खुला हुनेछ ।

निगम व्यवस्थापन करारमा दिनुको मुख्य उद्देश्य कमजोररुपमा रहेका विभागको कार्यलाई चुस्त र प्रभावकारी बनाउनुभएको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो । बढीमा चार महीनाभित्र व्यवस्थापन करारको काम सकिनेछ । उहाँका अनुसार अहिलेकै जनशक्तिलाई प्रभावकारी परिचालन गरिने र आवश्यक परेमा बाहिरबाट पनि जनशक्ति व्यवस्थापन गरिनेछ । निगमसँग हाल सबै सेवाका गरी एक हजार ६०० कर्मचारी छन् । त्यसमा एक हजार १०० स्थायी तथा करारका विमान चालक (पाइलट), इञ्जिनीयरिङलगायत ५०० को हाराहारीमा अस्थायी कर्मचारी छन् । निगमसँग अहिले १०५ पाइलट छन् । निगमलाई जम्मा १५० पाइलट आवश्यकपर्ने बताइन्छ ।

निगममा कार्यकारी अध्यक्षको सचिवालयसहित ११ विभाग छन् । मुख्य विभागमा अपरेशन, इञ्जिनियर, आर्थिक, व्यापारिक, संस्थागत, आन्तरिक लेखा परीक्षण, यात्रु सेवा, गुणस्तर, उडान सुरक्षालगायत विभाग छन् । नयाँ सडकमा रहेको निगमको केन्द्रीय कार्यालयबाटै अधिकांश काम हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पाँच वटा विभाग, यात्रु सेवा, उडान सुरक्षा, गुणस्तर, भूमिस्थ सहयोग र इञ्जिनीयरिङ मर्मत विभाग रहेका छन् । निगमका अन्तरराष्ट्रिय गन्तव्यमा पनि प्रत्यक्ष र अनलाइन अफिस रहेका छन् । मलेसिया, हङ्कङ र थाइल्याण्डको बैंककमा अनलाइन अफिस छन् भने जिएसए अफिस भारतमा बर्ड, दुबईमा आन्टा र कतारमा जिएसए अफिस छन् ।

निगममा पछिल्लो समयमा देखिएका समस्याको सामाधान गर्दै संस्थालाई माथि उठाउने उद्देश्यले विदेशी साझेदार (व्यवस्थापन करारमा) भित्र्याउन लागिएको निगमले जनाएको छ । निगमको व्यवस्थापन करार विदेशीलाई दिने विषय विगतमा पनि पटकपटक उठ्दै आएको थियो । तर, त्यसले सार्थक पाउन सकेको थिएन ।

निगमले विशेषतः इञ्जिनीयरिङ र सञ्चालन विभागमा नयाँ जनशक्ति व्यवस्थापन गर्नेछ । अहिले खड्किएको प्राविधिक जनशक्ति पूर्ति गर्न तथा विश्व बजारमा चलिआएका प्राविधिक कुरा र व्यवस्थापनमा अपनाइएका नयाँ आयामलाई समेट्नसमेत करार प्रक्रिया अघि बढाइएको हो ।

निगमले यसअघि पनि व्यवस्थापन सञ्चालन विदेशी कम्पनीलाई करारमा दिएको थियो । सन् १९७१÷७२ तिर एयर फ्रान्सको व्यवस्थापन समूहले निगमको व्यवस्थापन सञ्चालनको जिम्मेवारी पाएको थियो । त्यतिबेला निगमले बोइङ ७२७ लगायत विमान पनि खरीद गरेको थियो ।

व्यवस्थापन करारको काम सकिएपछि निगमको रणनीतिक साझेदारको विषयमा अघि बढ्ने निगमको तयारी छ । रणनीतिक साझेदारको विषय निकै जटिल छ, किनकी अहिले निगमको आर्थिक अवस्था कमजोर रहेकाले यो प्रक्रिया अघि बढाउन केही समय लाग्छ । “रणनीतिक साझेदार दुई÷तीन वर्षमा पुरा हुने काम हैन, पूर्णरुपमा साझेदारीमा गएर लाम हासिल गर्न कम्तीमा सातदेखि बढीमा १० वर्ष लाग्छ, संस्थाको वित्तीय कुरा महत्वपूर्ण हुन्छ, अहिले निगमको आर्थिक अवस्था कमजोर छ, यही अवस्थामा रणनीतिक साझेदार आउन गाह्रो हुन्छ”, सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।

निगमले हाल दुई वाइडबडी (ए ३३०–२००) र दुई न्यारोबडी (ए ३२०–२००) विमानबाट छ देशका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई वटा एम ६०, चार वटा वाई १२ र तीन वटा डिएसी छ विमानबाट २२ वटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।