जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ००:३९

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला चुनौती दिने यी महिला, जस्ले गरिन ह्वाइट हाउस नजाने घोषणा


केशरमणि कटुवाल

‘यी केटीहरू ! हट एन्ड टफ’ छन् । यिनीहरू कुनै पनि अवस्थाको सामना गर्न सक्छन् । यिनीहरू बोल्ड छन । यिनीहरूलाई खुलेर हाँस्न मन पर्छ । हामीलाई कसैले रोक्न सक्दैन । साँच्चै भनेको छोटकरीमा भन्ने हो भने हाम्रो ग्रुप नै सानदार छ ।’ यी शब्दहरू अरु कसैका होइनन् । अमेरिकी महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी मेगन रोपिनोका हुन् । यी मेगन तिनै फुटबल खेलाडी हुन, जसले महिला विश्वकप फुटबल सुरु हुनुभन्दा तीन दिनअघि मात्रै भनेकी थिइन, ‘चाहे जे सुकै होस म ह्वाइट हाउसमा पाइला राख्दिनँ ।’

उनले ट्रम्प प्रशासनको रवैया, एलजीबीटी समुदाय र महिलाप्रति उनको नीतिलाई लिएर आपत्ति जनाएकी थिइन् । अब यति भनेपछि पाठकले थाह पाइ हाल्नुभयो, यिनी विश्वकै सबैभन्दा शक्तिशाली र अत्याधुनिक बनेको अनि सबैको ‘सपनाको देश’ अमेरिकाका शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला चुनौती दिने हैसियत राख्ने युवती हुन् । भनिन्छ, महिलाहरू कमजोर हुन्छन् तर उनले महिलाहरू कमजोर हुने होइन, बनाइने हुन् भन्ने दृढ अडान राखिन । बनाउने भन्दा पनि कमजोर भएको भनिने मात्रै हो । तर, वास्तममै महिलाहरू अठोटमा दृढ हुन्छन, योजनामा दत्तचित्त भएर लाग्छन र सुखद परिणामलाई उत्सव मनाउँछन भन्ने ज्वलन्त प्रमाण हुन, मेगन रोपिनो ।

विश्वकप फुटबलअघि उनले ट्रम्पलाई चुनौती दिइन् र ह्वाइट हाउसमा बोलाए पनि नजाने सार्वजनिक घोषणा गरिन् । यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘पहिले जितेर देखाओ, त्यसपछि हामी ह्वाइट हाउसमा बोलाउने कि नबोलाउने सोचौंला ।’ मेगनको टिमले आखिरमा आफ्नो प्रतिबद्धता पूरा गर्यो र चौथो पटक अमेरिकालाई विश्व च्याम्पियन बनायो । विश्वकप जितेपछि ट्रम्पले ट्वीट गरे, ‘मेगनले देश, ह्वाइट हाउस वा देशको झन्डाको अपमान गर्नुहुँदैन । जब उनी र टिमका लागि धेरै गरिएको छ । जुन झन्डा ओडेको छ । त्यसमा गर्व गर्नुपर्छ । अमेरिकाले राम्रो गरिरहेको छ ।’ ट्रम्प तिनै व्यक्ति हुन, जो आफ्ना विवादास्पद भनाइका लागि चर्चित छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अभियानमा लागेदेखि नै ट्रम्प विवादित पात्रका रूपमा स्थापित छन् ।

ट्रम्पले सकारात्मकभन्दा बढी नकारात्मक कुराबाट नै प्रचार पाए र सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ हिलारी क्लिन्टनलाई हराएर राष्ट्रपति बने । तर, उनको यो विवादित बयानको यात्रा रोकिएको छैन ।मेगनदेखि हालै मात्र चार जना सांसदलाई नै ‘पूर्ण रूपमा असफल राष्ट्र’ बाट आएको भन्दै ‘अमेरिका छाड’ भन्न भ्याए । ट्रम्प मेगनविरुद्ध पनि यस्तै प्रचारबाजीमा उत्रिएका थिए । तर, यसपटक उनी एकैपटक मेगनविरुद्ध अभिव्यक्ति दिए र रोकिए । ती महिलाहरूको मुख बन्द गर्न कठिन हुन्छ, जो आफ्ना कुराहरूलाई बलियो ढंगले स्पष्ट रूपमा राख्छन र त्यसमा दृढतापूर्वक आफूलाई उभ्याउँछन् । ट्रम्प यसरी बहस गर्ने महिलालाई महिलाहरूको भीडमै ‘दुष्ट’ भन्नेजस्ता घृणित शब्द प्रयोग गर्छन् । तर, मेगन आफैंले बिना कारण टक्कर लिने कोसिस गरेमा ‘दुष्टता’विरुद्ध उत्रिने र जसले आफूहरूविरुद्ध त्यस्ता शब्द प्रयोग गर्छ, उसलाई नै ‘दुष्ट’ भन्न सकिने तर्क गर्छिन् ।

गुलाबी बोल्ड युवती

हो, अब कुरा गरौं, यी गुलाबी र छोटो कपाल भएकी तिनै लेस्बियन युवतीको । जसले आफ्नो फुटबल कौशल मात्रै होइन, तीव्र गतिमा दिएको सनसनीपूर्ण भाषणका कारण अमेरिकामा हलचल मच्चाइन् । यी गुलाबी र छोटो कपाल भएकी युवती अमेरिकामा मात्रै होइन, अब संसारकै लागि एक ‘रोल मोडल’ बन्ने अवस्थामा पुगेकी छन । महिलाबारे हाम्रा पुरातनवादी मान्यता अझै पनि बाँकी छन् । अभिभावक, शिक्षक र ती सबै मानिसको पनि महिलाप्रतिको सोचमा अझै स्पष्टता आएको छैन र उनीहरू अझै पनि भन्दै छन, ‘महिलाहरू महिलाकै स्थानमा रहनुपर्छ ।’

हामीलाई सफल भइयो भने इज्जत पाइन्छ भन्ने लाग्छ । तर, सफल हुने सबैले इज्जत पाउँछन् भन्ने चाहिँ होइन रहेछ । किनकि जब रापिनो र उनको टिमले विश्वकपको उपाधि जित्यो, त्यसै दिनदेखि उनीहरूका पोस्टर जलाइयो, उनका पोस्टरमा मानिसले भद्दा प्रतिक्रिया जनाए । विश्वकप जित्ने टोलीको सम्मान हुनुपथ्र्यो, संसारमै आफ्नो टोलीले सफलता पाउँदा त्यसलाई आफ्नै सफलतासँग जोडेर हेर्ने गरिन्छ तर यहाँ अपमानजनक नाराहरू लगाइए ।

रापिनो भन्छिन, ‘म सोच्ने गर्छु के कुनै पुरुष कप्तानले यसरी विश्वकपको ट्रफी जितेर ल्याउँछ भने त्यसमाथि यस्तै व्यवहार गरिन्छ होला त ?’ यो कुरा हाम्रो हकमा पनि लागू हुन्छ । हामी कुनै टिमले कुनै सफलता पायो भने त्यसमा औधी खुसी हुन्छौं, हालै ब्राजिलले कोपा अमेरिका र इंग्ल्यान्डले क्रिकेट विश्वकपको उपाधि जित्दा समर्थकहरू खुसीमा झुम्मिएको हामीले देख्यौं । तर, मेगनका लागि यस्ता अपमानजनक शब्दहरूको प्रयोग किन ?

मेगन किन यसरी बोल्छिन् ?

मेगन आफ्ना कुराहरूलाई किन यति स्पष्ट रूपमा राख्छिन् ? जबाफ सिधा र स्पष्ट छ किनकि उनलाई कसैले दबाउन सक्दैन वा अरूले दबाउँदा सजिलै दबिनन् । मेगनविरुद्ध किन मानिसहरू लाग्छन् किनकि उनी कसैसँग माफी माग्दिनन् । मेगनले आफ्नो टिमलाई विश्वकप जिताएपछि अमेरिकामा केही व्यक्तिको प्रतिक्रिया यस्तो पनि थियो, ‘जित्नु त ठीकै हो तर उनी किन ठीक ढंगले प्रस्तुत हुन सक्दिनन् ? उनी किन हमेसा कडा बोल्छिन् ? यदि तिमी च्याम्पियन हो भने यति घमण्ड किन र के कुराका लागि ? थोरै विनम्रता देखाऊ ।’

अमेरिकीको बुझाइ पनि अजीवको लाग्छ । जब राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलाका निजी जीवनदेखि निजी अंगबारे आपत्तिजनक शब्द प्रयोग गर्दा प्रतिकार गर्दैनन् । तर, कुनै समलिंगी महिलाले खुलेर आफ्ना कुराकानी राख्छिन् भने त्यसप्रति किन यस्तो कठोरता ? मानिसहरूको यो आम रवैया नहुन पनि सक्छ । तर, यदि १२–१५ वर्षका किशोरीले मेगनलाई आदर्श माने र स्वतन्त्रताको सपना देख्न थाले भने के त्यसलाई संसारको कुनै पनि समाजले थेग्न सक्छ, महिलालाई हेप्न र गलाउन सक्छ ? मेगनले जुन भाषण दिइन, त्यसमा उनले आफ्नो टिमबारे पनि कुरा गरेकी छन् । उनी भन्छिन्न ‘हामीमध्ये केहीको कपालको रंग गुलाबी छ, केहीको कालो छ, कसैले ट्याटु खोपाएका छन् त कसैको लामो कपाल छ । विपरीत लिंगीप्रति आकर्षित हुने युवतीहरू पनि छन् र लेस्बियन युवती पनि छन् । मलाई हामी सबैमाथि गर्व छ ।

हामीले जित हासिल गरेका छौं र निष्फिक्री छौं । हाम्रो स्वागतमा जुन ¥याली निस्कियो, यो सबैभन्दा सुन्दर क्षण हो । हामी पुरै संसारको सबैभन्दा बलियो र च्याम्पियन टोली अनि त्यसका सदस्य हौं ।’ यी सबै कुरा उनले गर्वले भनिन् । उनको यो भनाइले कतिपयलाई ईष्र्या र रिस उठ्न पनि सक्छ ।

माफी माग्ने र नमाग्ने युवती

मानिसहरू एक महिलाले उचित व्यवहार देखाओस् भन्ने चाहन्छन् । नम्र, दयालु र सहनशील होस् भन्ने चाहन्छन् । तर, मेगनलाई यी कुराको कुनै परवाह छैन । मानिसहरू रिसाएकोमा कुनै पश्चात्ताप पनि छैन । उनी कसैको रत्तिभर परवाह गर्दिनन् । मेगन माफी नमाग्ने केटी हुन् । हामी बिनाकारण माफी मागेको र माफी माग्नुपर्ने अनगिन्ती कारणहरू पाउँछौं । तर, मेगन यस प्रकारकी केटी होइनन् ।

मेगनजस्ता युवतीलाई किन स्विकारिँदैन ?

हामी आत्मग्लानीको अजीव भावनाले घेरिएका युवतीहरू देख्छौं । हामी यस्तै युवतीहरू हेर्ने बानी परेका छौं, अर्थात् भनौं यस्ता युवतीहरू देख्नु हाम्रा लागि सामान्य कुरा हो र यो हामीले पचाइसकेका छौं । यसैकारण, मेगन र उनीजस्ता बोल्ड केटीहरूका व्यवहार हाम्रा लागि पाच्य हुँदैनन् । हामी उनीहरूको जिउने तरिकालाई मन पराउँदैनौं । यसको अर्थ मेगनले जुनसुकै बेला जे गर्छिन, त्यो सधैं सही हुन्छ भन्ने पनि हुँदैन । उनी आफैं पनि भन्छिन, ‘म झगडाको समयमा कहिलेकाहीँ यस्ता कुरा भन्छु कि मैले त्यस्तो कुरा भन्न हुँदैनथ्यो ।’

कसैको पनि आक्रामकता सही हो भन्ने खोजिएको होइन । तर, मानिसहरूले कुनै महिलाले विनम्र नै भइरहनुपर्छ र जितको पछि त झनै विनम्र भएर वा झुकेर प्रस्तुत हुनुपर्छ भन्ने परम्परागत मान्यता अबको समयमा लागू नहुन पनि सक्छ । सैद्धान्तिक र नैतिक रूपमा भन्ने हो भने कुनै जितपछि खुट्टा आकाशमा पुग्ने गरी उचाल्नु ठीक होइन र त्यसो गर्नु आवश्यक पनि छैन । आक्रामकता जरुरी पनि होइन । विश्वकप क्रिकेटलाई हेरौं न एक न्युजिल्यान्डका कप्तान केन विलियम्सन, जो तीव्र प्रतिस्पर्धा, ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएर बाउन्ड्रीका आधारमा हार्दा पनि मुस्कुराउँदै मैदानबाट बाहिर निस्किए । अर्का इंग्ल्यान्डका जासोन राय, जो स्पष्ट रुपमा आउट हुँदा पनि अम्पायरसँग झगडा गरे ।

महिला र पुरुषका लागि किन फरक रवैया ?

यी दुवै व्यवहारबारे उत्तिसारो कडा टिप्पणी पनि केही छैन । किनकि एकै हातका पाँच औंला पनि कहिल्यै बराबर हुँदैनन् । फेरि हामी मेगन रापिनोको सन्दर्भमा किन यो कुरा बिर्सन्छौं ? युवा युवतीहरू यो पनि हेरिरहेका छन् कि विगतमा जो महिलाले बिनाकारण माफी माग्न सुरु गरे । उनीहरूको अवस्था के भयो र यो अवस्था कसरी परिवर्तन गर्ने भन्ने प्रश्न कसरी आयो ? मेगनाले आफूले गरेको भाषणको निष्कर्ष थियो, ‘हामीले प्रेम धेरै गर्नुपर्छ र कम रिसाउनुपर्छ । धेरै सुन्नुपर्छ र कम बोल्नुपर्छ । यो संसारलाई सुन्दर बनाउने जिम्मा हाम्रो हो । तपाईं चाहे जे गर्नुहोस्, तपाई जस्तो हुनुहुन्छ, त्योभन्दा राम्रो बन्नुहोस् ।’

आफ्नो भाषण सकिएपछि मेगन त्यसरी दुवै हात हल्लाउँदै अभिवादनसहित मञ्चमा उभिन्छन्, जसरी उनी विश्वकप जित्दा देखिएकी थिइन् । यसपछि उनका प्रशंसक र खेलाडीहरू खुसी हुन्छन् । विश्वकप जितेपछि उनले संसारलाई चुनौती दिइरहेको ठानिएको थियो, साथै यसबाट यस्तो लाग्यो कि उनी दुवै हात फैलाएर संसारलाई अंगालो मारिरहेकी छन् । साँच्चै भन्ने हो भने दुवैमा कुनै गल्ती छैन । हाम्रा महिला दिदीबहिनीहरूमा स्वतन्त्रता हुन सकोस् कि उनीहरूले संसारलाई चुनौती दिन सकून् । उनीहरूले आत्मविश्वासले भरिएर सबैका अघि खडा हुन सकून् । दुवै हात हल्लाएर संसारलाई अभिवादन गरेको हेर्ने चाहना राखौं, बिनागल्ती माफी माग्न हात फैलाएको हेर्न होइन ।