जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०८:५०

भत्तामाग्न जाँदा मृत्यु भईसकेको कागजपत्र थमाईदिएपछि


दैलेख, साउन ५

सामाजिक सुरक्षा भत्ता माग्न भगवतीमाई गाउँपालिका पुगेका एक दम्पत्तिलाई मृत्यु भईसकेको सरकारी कागज थमाइएको खुलेको छ । जिवितै रहेका भगवतीमाई गाउँपालिका–४ का ८४ वर्षिय मनिराम खत्री र उनकी श्रीमती ८२ वर्षिया ज्योतिकला खत्रीलाई मृत्युदर्ताको प्रमाणपत्र बुझाइएको हो ।

मृत्यु दर्ता विवरणमा ज्योतिकलाको २०७५ चैत्र २५ गते र मनिरामको २०७६ वैशाख १० गते निधन भएको व्यहोरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गर्नुभएको छ । अनलाइनबाट पञ्जिकरण गरिने भएकोले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले अनलाइन इन्ट्रि गर्नुभएको खुलेको छ ।

गएको फागुनमा ज्येष्ठ नागरिक भत्ता लिएपछि दुवै दम्पतीले जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–९ थमनियामा बसाइँ सर्न लागेको बताएका थिए । त्यसै अनुरुप चैतमा ती दुवै दम्पतीले वडाबाट बसाइँसराइ मागे । इन्टरनेटको सुविधा गाउँपालिका कार्यालयमा मात्र भएको कारण बसाइँसराइ गराइदिन वडा कार्यालयले गाउँपालिकालाई सिफारिस गर्‍यो ।

त्यही सिफारिसको आधारमा सूचना प्रविधि अधिकृत देवेन्द्र सिंहले बसाइँसराइ गरेको भनी अनलाइनमा इण्ट्रि गराउनुभयो । तर अनलाइनमा इण्ट्रि गर्दा बसाइँसराइ हुनुपर्नेमा मृत्यु दर्ता जनाएको त्यही विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गर्नु भएको पुष्टी भएको छ । अनलाइनमा इण्ट्रि गर्दा गल्ती भएको सूचना प्रविधि अधिकृत सिंहले स्वीकार गर्नुभयो ।

बसाइँसराइ गर्दा मृत्यु दर्ता कसरी भयो ? यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरुलाई कारबाही गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो । खत्री दम्पतीको विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाँचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने व्यवस्था गरिने र पछिल्लो ४ महिनाको भत्ता विवरण गलत तथ्यांक भर्ने कर्मचारीलाई तिराउने तयारी भएको बताउनुभयो ।