जनता टाइम्स

६ श्रावण २०७६, सोमबार ११:०१

धरहरा निमार्ण गरिरहेका रमन महतोको दाबी : विदेशी भन्दा नेपाली कम्पनीको काम राम्रो छ


रमन ग्रुप आफ कम्पनीको शुरुवात रमन कन्ट्रक्सनबाट शुरु भएको हो । अनैपचारिक रूपमा ४० वर्ष अघि शुरु भएको कम्पनी सन् १९९१ कम्पनी दर्ता भयो । कन्ट्रक्सन क्षेत्रमा राम्रो छवि बनाउन सफल रमन कन्ट्रक्सनले सन् २००४ मा रमन ग्रुप अफ कम्पनीको सब कम्पनीको रूपमा रमन जेनरलको शुरु गर्यो । जनकपुरमा हिरो ब्राण्डको आधिकारिक विक्रेताको रूपमा कम्पनी स्थापित भएको थियो । रमन जेनेरलमार्फत अहिले कन्ट्रक्सन सम्बन्धि हेभी इक्युपमेन्टको कारोबार गर्दै आएको छ । पूर्वधार निमार्णको लागि चाहिने लगभग सबै इक्युप्मेन्ट रहेको कम्पनीको दाबी छ । फेरि २०१६ मा रमन मोटर्स भनेर छुट्टै कम्पनी दर्ता गरेको छ । यो बंगालादेशका रनर मोटरसाइकलको आधिकारिक विके्रता हो । ४० वर्ष देखि पूर्वाधार निमार्णमा निरन्तर रहेको कम्पनीका सिइयो रमन महतोले बसन्त अर्यालसँग विस्तृतमा कुराकानी गरेका छन्ः

बहुचर्चित पूर्वधारमा रमन कन्स्ट्रक्सन

हामीले अहिले धरहरा निर्माणको काम गरिरहेका छौं । अहिले नेपालमा बहुचर्चित जनकपुर–बर्दिबास रेलमार्गको ट्र्याकको निमार्णको काम सबै हामीले गरेका हौं । काठमाडौंमा हामीले मेलेम्चीको प्रोजेक्टको डिस्ट्रव्युसन लाइनको तीनवटा प्याकेज गरेका छौं । मध्यपहाडि लोकमार्ग, हुलाकी राजमार्गमा विभिन्न प्याकेजमा काम गरेका छौं । हामीले करिब ८ सय किलोमिटरका सडक निर्माण गरिसकेका छौं । महेन्द्र राजमार्गमै करिब ३ समय किलोमिटको काम गरिसकेका छौं । त्यो लगायत रानी विराटनगर ४ लेनको बाटो निर्माण गरेका छौं । बागमतिमा ढल व्यवस्थापनको लगि काम गरिरहेका छौं । शहरी विकासको कुरा गर्दा जनकपुरको लगभग पूरै शहरमा हामीले काम गरेका छौं । काठमाडौंमा फुटपाथको काम हामीले गरेका छौं ।

धरहरा

दुई वर्षमा सक्ने भनेको साइड किलियर नभएर समयमै नसकिने देखिएको छ । कम गर्नको लागि २० प्रतिशत मात्र ठाउँ पाएका छौं । अझै पनि ८० प्रतिशत ठाउँ खालि छैन । सरकारले हतारमा टेन्डर निकाल्छ अनि कुनैपनि काम समयमा सकिँदैन । बाहिर त कति समस्या हुन्छ होला । अहिले धरहरामा गएर हेर्ने हो भने देशभरका आयोजना पूरा हुन नसक्नुका कारण सबै समस्या भेटाउनु हुन्छ । स्थानीयको अवरोध, साइड किलियरेन्स, जाग्गा प्राप्ति सबै समस्याहरूको नमूना हो धरहरा ।

कन्ट्याक्टर भनेको त एक्टर हो 

हरेक निमार्णको कार्यमा बाहिरबाट सबैले ठेकेदारलाई नै दोष लगाउँछन् । सडक एक वर्ष नपुग्दै भत्कियो भने ठेकेदारलाई नै दोष लगाउँछन् । तर ठेकेदारले त पैसा लगानी गर्ने होइन । सरकारले जस्तो बनाउन भन्यो, हामीले त्यस्तै बनाउने हो । कुनै पनि डिजाइन स्ट्यान्डर्ड खालको हुँदैन । सडक बन्छ, हलुका सवारी चल्ने तर गाडि गुड्छ ठुला–ठुला मालबाहक गाडि अनि कसरी टिक्छ धेरै वर्ष बाटो ? सबैले ठेकेदारले टाल्ने काम गर्यो भनेको हुन्छ तर सरकारले नै टाल्ने कामको ठेक्का दिएको हुन्छ । नेपालमा सडक टिक्यो भने दुई वर्षमात्र हो । त्यसपछि फेरि नयाँ टेन्डर आब्हान गर्ने कमिसन खाने । कन्ट्«याक्टर भनेको त एक्टर हो । फिल्ममा जस्तै प्रोड्युसर सरकार हो । डाइरेक्टर भनेको कमचारीतन्त्र हो । हामीलाई डाइरेक्टरले कट भन्यो भने काम रोक्नुपर्छ । हामी त कलाकार मात्र हो । जस्तो एक्टिङ गर भन्छ त्यस्तै गर्छाैं ।

गुणस्तर नहुनुमा डिजाइन नै अन्डर क्वालिटी

हामीलाई जस्तो गुणस्तरको काम गर भन्छ त्यस्तै गर्ने हो । डिजाइन अनुसारको गुणस्तर भएन भने कमचारीले च्याप्प समात्छन् । कर्मचारीमा यस्तो संन्त्रास हुन्छ कि अख्तियारले समाउला भन्ने हुन्छ । गुणस्तरहीन काम त पासै हुँदैनन् । उसले मागेको भन्दमा धेरै गुणस्तर दिनुपर्छ । कर्मचारी जहिले पनि सेफ गेम खेल्छन्, उनीहरू कहिल्यै फस्न चाँहादैनन् । गुणस्तरमा कहिल्लै पनि सम्झौता हुँदैन । डिजाइन नै अन्डर क्वालिटी छ भने समस्या त देखा परिहाल्छन् नि । कहिलेकाहिँ बन्दाबन्दै पुल भत्कने पनि गरेका छन्, यो गुणस्तर कम भएर भत्किएको होइन । यो भनेको दुर्घटना हो । तर सधैं दुर्घटना भन्न मिल्दैन । कुनै–कुनै पुल ठेकेदारको लापरवाहिले पनि पनि दब्ने र भत्कने गरेका हुन्छन् । दुईचार जना ठेकेदारले बदमासी गरे भन्दैमा सबै ठेकेदार बदमासी हुँदैनन् । सरकारले दीर्घकालिन योजना बनाएर काम ग¥यो भने यो सुधार हुन्छ । अन्तर्राष्ट्रिय स्ट्यान्डर्डमा डिजाइन गरेको हुनुपर्छ । नियमित मर्मत पनि हुनुपर्छ । हरेक समयमा ठेकोदार उपलब्ध हुँदैन ।

विदेशी भन्दा नेपाली ठेकेदार राम्रा 

सबैले नेपाली ठेकेदार ठग हो भन्छ । नेपालमा हेरौं न त विदेशी ठेकेदारले गरेका काम राम्रा छन् कि स्वदेशी ले गरेका काम ? त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हालत किन लथालिंग छ । मेलेम्ची पनि हेरौं । यो भनेको विदेशीमै निर्भर भएर हो । नेपालमा आउने प्रायः विदेशी कन्सट्रक्स कम्पनी कालोसुचीमा परेर आएका हुन्छन् । धेरैजसो ठेकेदारहरू पैसा खाने, नेपाली ठेकेदारलाई ठग्ने हिसाबले नै आएको हुन्छ । त्यसको मतलब सबै नराम्रा छन् भन्ने होइन धेरै चाइनिज कम्पनीले नेपालमा आएर राम्रो काम गरेको उदाहरण पनि छन । हामीले प्रविधि ल्याउन पनि जरुरी छ तर अहिले हामीसँग टाइअप गरेर काम गर्ने मौका दिनप¥यो ।

कमिशनको चक्करले ठेक्कामा हतार

टेन्डर निकाल्न हतार किन? कन्स्ट्रक्सन हुँदै गर्दा बल्ल साइड किलियरेन्स गर्ने होइन । २ वर्षको काम गर्न ५ वर्ष लाग्छ भन्ने देखिरहँदा बरु एक वर्ष ढिला टेन्डर निकाल सबै साइड क्लियर गरेर ३ वर्षमा त काम सकिन्छ । सरकारले समयावपध सकिएका काम एकवर्ष भित्र सक्न भनेर नियमावली ल्याएको छ । काम सक भनेर हुन्छ ? काम गर्ने ठाउँमा रुख छन् । रुख काट्न फेरि सरकारी निकायले नै रोकेको छ । हामीले नै ठेक्का लिएका २ वर्षमा सक्नुपर्ने कति काम ४ वर्ष भयो अझै साइड क्लियरेन्स भएको छैन । यो ठेकेदारको गल्ती हो त ? विगतका दिनमा नेताले निवार्चन खर्च उठाउँन डिजाइन, साइडक्लियरेन्स नभएका ठाउँमा छिटो टेन्डर आब्हान गर्दा अहिले समस्या देखिएका हुन् । अनि समयमा काम सकिँदैन । सरकारले सबै ठेक्का साइट किलियरेन्स गरेर दियो भने नेपालका ९० प्रतिशत ठेकेदारले बोनस खान्छन् । हामीलाई चाहिने भन्दा धेरै समय दिएको छ ।

कर्मचारीतन्त्रमा उत्तरदायित्व छैन

सरकारी कर्मचारीमा उत्तरदायित् लिनुपर्छ भन्ने धारणा नै छैन । सरकारले कर्मचारीलाई उत्साहित बनाउन पनि सकेको छैन । नेपालमा सीप भएको कामदारले ४० हजारसम्म कमाउँछ तर नेपाल सरकारका सचिवको तलब ५० हजार जति छ । अनि मन लागेर कसरी काम गरुन् ? उनीहरूलाई खाली कताबाट नाफा खान पाइन्छ भन्ने मात्र हुन्छ । जीवन धान्न सक्ने राम्रो तलब त दिनुपयो नि । अनि पो बल्ल काम गर्छन् । अहिले सरकारका हरेक योजनाबाट कर्मचारीले पैसा खान्छ । किनकि उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने पैसा सरकारले दिएको छैन ।

किराना पसल जस्तै कन्ट्रक्सन कम्पनी

नेपालमा कन्ट्रयाक्टर धेरै भए । धेरै आयोजना राम्रो नै छैनन् । यस क्षेत्रमा कुनै ज्ञान नभएको मान्छेलाई ठेक्का दिएर कुनैपनि काम समयमा बन्दैन । कन्ट्रक्सन कम्पनीहरू किराना पसल जस्तो छरिएर रहेका छन् । जसले पनि गर्न पाउने, कुनै मापदण्ड नबनाउने । सानासाना कम्पनीहरूले धेरै काम बिगारिरहेका छन् । किनकी उनीहरूसँग फाइनान्सियल सक्षमता छैन । उनीहरूसँग कुनै मेशिनहरूनै हुँदैनन्, अनि काम गर्न सक्दैनन् । करिब १५ हजार कम्पनी दर्ता छन् । तर नेपालमा काम गर्ने भनेको ३ सय जति कम्पनीले मात्र हो, अरू काम विगार्ने हुन् । साना कन्ट्रयाक्टरले सब–कन्ट्राक्टमा काम गर्न सक्छन्। तर ठुलो आयोजना बनाउन सक्दैनन् । हामीले पनि धेरै साना कन्ट्रयाक्टरलाई काम दिएका छौं। आर्थिक सहयोग, प्रविधिक सहयोग गरेर हाम्रो ब्यानरमा काम भइरहेको छ ।

राम्रो कामगर्दा ‘बेष्ट कन्ट्रक्सन कम्पनी अवार्ड’

भारतको कन्स्ट्रक्सन म्यागेजिन र नेपाल निर्माण व्यवसायी महासंघले नेपालको सबै भन्दा ठुलो, वार्षिक टर्नओभर धेरै भएको, सिएसआर मार्फत संघ संस्था हरूलाई सहयोग , भौतिक संरचनामा प्रविधिको सहयोग र कन्ट्रक्सन क्षेत्रमा नयाँ कन्सेप्ट ‘कन्स्ट्रक्सन मार्ट’ ल्याएको भनेर अवार्ड गरेको छ । हामी यो क्षेत्रलाई लिड गरिरहेका छौं । हामीले गरेको कामलाई अवार्ड प्रदान गरिएको हो । यसले हामीलाई ठूलो आत्मसन्तुष्टी दिन्छ ।