जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १०:५४

विभागको नेतृत्वमा देखिएको विवाद मिलाउन छलफलमा जुटे ओली-प्रचण्ड


काठमाडौं, साउन ६

नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विवाद मिलाउन अध्यक्षद्वय छलफलमा जुट्नु भएको छ । अन्य विभागको लगभग टुंगो लागेपनि स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद श्रृजना भएको हो ।

पूर्व एमालेको भागमा परेको सो विभागमा सचिवालय सदस्य इश्वर पोखरेललाई पठाउने सहमति भएपनि पूर्वमाओवादीले अस्विकार गरेपछि विवाद झनै बढेको छ । अन्य विभागको नेतृत्व टुंगो लागेपनि स्कुल विभागको नेतृत्वमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य सुरु गर्नुभएको नेताहरुले जानकारी दिनुभएको छ । स्कुल विभागमा सचिवालय सदस्यहरु पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गरेपछि आइतवार बसेको सचिवालय बैठकले त्यसमा टुंगो लगाउन सकेको थिएन् ।

पोखरेललाई स्कुल विभागमा ल्याएर श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिने तयारी भएपनि पूर्वमाओवादी पक्षले असहमती जनाएपछि विवाद बढेको छ । मंगलबार बस्ने सचिवालय बैठकअघि सहमतीको प्रयासमा अध्यक्षद्वय ओली र दाहाल आन्तरिक छलफलमा जुटिरहनु भएको छ । दुवै जनाले आन्तरिक छलफल गरेर सहमति खोज्ने नभए शिर्ष नेतासँग बसेर भएपनि सचिवालय बैठक अगाडी सहमति निकाल्ने तयारी भईरहेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । महत्वपूर्ण विभागको नेतृत्वमा तत्कालिन एमाले हावी भएपछि तत्कालिन माओवादी पक्षले वैचारिक विभागको नेतृत्व कुनै हालतमा छोड्न नहुने भन्दै अध्यक्ष दाहाललाई दबाव दिएका छन् ।