जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार २१:११

गुल्मीका पहिरोपीडितको उद्धारमा जुटे परराष्ट्रमन्त्री ज्ञवाली (फोटो फिचर)


गुल्मी, साउन ७

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली आफ्नो गृहजिल्लामा गएको पहिरो परेर पीडित बनेकालाई राहत बाड्न पुग्नु भएको छ । गएराति गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो भने ४ जना अझै हराईरहेका छन् ।

राहतसहित घटनास्थलमा पुग्नु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले प्याकेजमा राहत उपलब्ध गराउने जानकारी समेत गराउनु भएको छ । ज्ञवालीले विस्थापितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने प्रतिबद्धतासमेत जनाउनु भयो । विकासको नाममा जथाभावी डोजर प्रयोग नर्गन समेत ज्ञवालीले सचेत गराउनु भयो । उहाले विस्थापित भएका परिवारलाई टेन्ट तथा त्रिपालहरु उपलब्ध गराउनु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल राहतसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको हो । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरेसहितको टोली प्रभावित क्षेत्रतर्फ जानुभएको छ भने सामाजिक विकासमन्त्री बराल औषधि, टेन्ट, भाडाकुडासहित राहत सामग्रीसहित प्रभावित क्षेत्र पुग्नु भएको थियो ।

मन्त्री ज्ञवाली र बरालले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन सबैमा आग्रह गर्नुभयो । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।