जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १४:३५

बेलायती समकक्षीलाई प्रधानमन्त्री ओलीको सन्देश : निकटतापूर्वक काम गर्ने आशा गर्दछु


काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । आफ्ना वेलायती समकक्षी जोन्सनलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ ।

‘नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्ट्र वेलायत नै हो, आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग पनि उल्लेख गर्नुभएको छ । ‘तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको बिकासमा बेलायतले गरेको सहयोगको प्रसंसा गर्नुभएको छ । ‘नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टबाट हाम्रो सामाजिक, आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं,’ वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्रीलाई सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना पनि दिनुभएको छ । ‘म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु,’ सन्देशमा भनिएको छ ।