जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १५:४३

बाढीले बगाएर बेपत्ता भएकाको परिवारलाई पालिकाले दियो ५१ हजार राहत


मोरङ, साउन ९

मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो ।

यसैगरी वडा नं-४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार नगद दिने घोषणा गर्नुभयो । पीडित परिवारलाई केही राहत होस् भनेर सहयोग गरेको उहाँले बताउनुभयो । लोहन्द्रा खोलाको बाढीले गत असार २८ गते सोमा सोरेन बगाएर बेपत्ता भएका थिए । हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।