जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १७:३४

डा भगवान कोइरालाको अभियानमा ओली सरकारको साथ, उपलब्ध गरायो ४१ रोपनी जग्गा


बुढानिलकण्ठमा उपलब्ध गरायो ४१ रोपनी जग्गा

काठमाडौं, साउन ९

डा. भगवान कोइरालाले गैरनाफामुलक रुपमा संचालन गर्न लागेको बाल अस्पतालका लागि सरकारले जग्गा दिने भएको छ । मुटुरोग विशेषज्ञ डा. कोइरालाको अग्रसरतामा स्थापना हुन लागेको सुविधासम्पन्न सय शै्ययाको बाल अस्पतालका लागि वुढानीलकण्ठमा ४१ रोपनी जग्गा दिने निर्णय गरेको हो ।

‘काठमाडौं चाइल्ड हेल्थ हस्पिटल’का लागि सरकारले बुढानीलकण्ठ–७ मा कित्ता नम्वर २३ को ४१ रोपनी १० आना ३० पैसा जग्गा भाडामा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाइएको छ, जसको अध्यक्षमा डा. कोइराला हुनुहुन्छ । गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौंमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिनु भएको छ ।

डा. कोइरालाले करिब २ अर्ब लाग्ने योजना कार्यान्वयनका क्रममा सुरुमा काठमाडौंमा २ वर्षभित्र सय बेडको अस्पताल बनाउने बताउनु भयो । दोस्रो चरणमा प्रदेश सरकारसँग पनि समन्वय गरेर सातवटा अस्पताल बनाइनेछ । डा. कोइरालाले सरकारले एउटै विषयमा ७ वटा अस्पताल बनाउने प्राथमिकता दिन नसक्ने र निजी क्षेत्रबाट खोल्दा उपचारमा सबैको पहुँच नहुने अवस्थामा दिगो र सबै वर्गको पहुँचका लागि गैरनाफामूलक संस्थाको मोडल रोजेको समेत जानकारी दिनुभयो ।