जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १०:४३

‘रअ’ का प्रमुखसँग भेटेको छैन – पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं, साउन १०

पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग कुनै पनि भेटवार्ता नभएको बताउनु भएको छ । नेपाल आई विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेको र त्यसै क्रममा पूर्वराजा ज्ञानेन्द्रसँग पनि भेटघाट गरेका खवरहरु सार्वजनिक भएका थिए ।

त्यसैक्रममा ज्ञानेन्द्रले समेत भेटघाट गरेको भनी केही अनलाईन मिडियाबाट समाचार प्रकाशन गरिएको प्रति उहाका निजी सचिव डा. फणिराज पाठकले आपत्ति जनाउनुभएको छ । विज्ञप्ति प्रकाशित गर्दै डा. पाठकले उक्त समाचार कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने प्रकृतिको रहेको उल्लेख गर्नुभएको छ ।

सो विज्ञप्तिमा भनिएको छ– पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ’रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु । यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ।’