जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ११:३०

चर्चित यी हत्याकाण्ड : जस्का हत्यारा पत्ता लगाउनै सकस


काठमाडौं, साउन १०

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज वर्षदिन पुरा भएको छ । यो हत्याकाण्ड देशकै चर्चित हत्याकाण्ड मध्ये एक बन्न पुगेको छ । घटनाको शुरुवातमै प्रहरी अनुसन्धान फितलो भई स्वार्थ समुह सक्रिय हुदा यसका अपराधिहरु आज पनि पक्राउ पर्न सकेका छैनन् ।

नेपाल प्रहरीले अधिकाशं घटनाका अपराधिलाई ढिलो चाडो कानुनको दायरामा ल्याउने गरेको छ । कतिपय ठाउमा प्रशंसा हुने गरेको छ भने कतिपय घटनामा आलोचना । यस्तै केही घटना छन् जसले प्रहरीलाई आलोचना गर्ने बाटो दिएको छ । तर, निर्मला हत्या प्रकरणमा तर्क भन्दा हल्ला नै सबैभन्दा बलियो बनेको प्रहरीको भनाई छ । तर्कका पछाडी नलागि समाज हल्लाका पछाडी लाग्दा अपराधिले उन्मुक्ति पाउने अवस्था आएको प्रहरीका उच्च अधिकारीहरु बताउछन् । यद्यपी प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल भने अपराधि पत्ता लगाएर छोडिने बताउनु हुन्छ ।

कतिपय घटनालाई राजनीतिक रंग पनि दिइने गएको छ । यस्तै केही चर्चित घटना हामीले यहा प्रस्तुत गर्न लागेका छौं । हामीले प्रस्तुत गरेका ९ चर्चित हत्याकाण्डका अहिलेसम्म अपराधि पत्ता लाग्न सकेका छैनन् । ती मध्ये ४ घटना हाल नेकपामा रहेका नेताहरु प्रधानमन्त्री हुँदा भएका छन् भने दुई घटनामा नेपाली कांग्रेस, दुई घटना तत्कालिन राप्रपा र एक घटना बाबुराम भट्टाराई प्रधानमन्त्री हुदा भएका हुन् ।

निर्मला पन्त बलात्कार हत्या प्रकरण

१० साउनमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना वर्ष ०७५ को सर्वाधिक चर्चामा रह्यो । यो घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानमै लापरबाही गर्दा प्रहरी मात्र होइन, सरकारसमेत आलोचित बन्यो । एक वर्षसम्म पुग्दा पनि प्रहरी अनुसन्धान शून्यमै छ । अनुसन्धानमा लापरबाही गरेको र शोधपुछका लागि बोलाएकाहरूलाई यातना दिएको अभियोगमा आठ प्रहरीविरुद्ध मुद्दा चलिरहेको छ । यो घटना हुँदा प्रधानमन्त्रीमा केपी शर्मा ओली हुनुहुन्थ्यो ।

पूर्वराजदूत केशवराज झा हत्या

गत ४ भदौमा बबरमहलस्थित घरमै हत्या गरिएका पूर्वराजदूत केशवराज झाका हत्यारालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। प्रहरी अनुसन्धान घटनाको अन्तर्यमा पुग्नै सकेको छैन। आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले हानेर झाको हत्या भएको थियो । एउटा झ्यालको जाली थोरै काटिएको भेटिए पनि हत्यारा कहाँबाट प्रवेश गर्‍यो भन्ने प्रहरीले मेसो नै पाउन सकेको छैन। परिस्थितिजन्य अवस्था हेर्दा उनकै घरका पाले कान्छा तामाङको संलग्नता देखिए पनि प्रमाण नभेटिएकाले उनी छुटिसकेका छन् । छोरा–बुहारी विदेश गएको भोलिपल्टै झाको हत्या भएको थियो । यो घटना हुँदा पनि ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो ।

नमिता–सुनिता हत्याकाण्ड

०३८ जेठमा पोखरामा तीन युवतीको हत्या घटना अहिलेसम्म रहस्यमय छ । ‘नमिता–सुनिता हत्याकाण्ड’ नामले चर्चित सो घटनामा दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी तथा उनीहरूकी साथी नीरा पराजुलीको बलात्कारपछि हत्या भएको बताइए पनि अनुसन्धान कुनै निष्कर्षमा पुग्न सकेन ।

१८ जेठमा काठमाडौंबाट पोखरा घुम्न हिँडेका उनीहरू २४ जेठपछि बेपत्ता भएका थिए । त्यसको ५ दिनपछि २९ जेठमा नमिता सेती नदीको खोँचमा मृत भेटिइन् । त्यसको ९ दिनपछि दिदी सुनिताको शव पनि भेटियो । पाँच महिनापछि नजिकै सेती खोँचमै अर्की युवतीको पनि शव भेटियो । तर, त्यतिवेला डिएनए परीक्षण प्रविधि नभएकाले शव निराको हो होइन पुष्टि नै हुन सकेन । यो घटना हुदाँ स्व. सुर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

अमर लामाको हत्या

दुर्घटनामा मृत्यु भएका नेता मदन भण्डारीका चालक अमर लामाको १ साउन ०६० मा कीर्तिपुरमा हत्या भएको थियो । लामाका हत्यारा पक्राउ नपर्नुलाई मदन भण्डारीको ज्यान गएको दुर्घटनासँग जोडेरसमेत विश्लेषण हुने गरेको छ । यस बेला पनि प्रधानमन्त्रीमा थापा नै रहनु भएको थियो ।

पूर्वगृहमन्त्रीका पिएसओका हत्या
पूर्वगृहमन्त्री खुमबहादुर खड्काका पिएसओ सई कुबेर कार्कीको हत्याका अभियुक्त हालसम्म पत्ता लागेका छैनन् । २० मंसिर ०६३ मा गोठाटारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर खुकुरी प्रहार गरी उनको हत्या भएको थियो । दबाबकै कारण यो अनुसन्धानले मूर्तरूप पाउन नसकेको प्रहरी अधिकारीहरू बताउँछन् । यो बेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरिरहनु भएको थियो ।

तीन बालबालिकाको हत्या

विगतका धेरै घटना प्रहरीको असफलताको सूचीमा छन् । ०७४ असारमा भोजपुरको अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो। घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन। यस बेला हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको थियो । उहाले पनि सो घटनाको अनुसन्धान गरेर अपराधि पत्ता लगाउन सक्नु भएन ।

काठमाडौंकी छोरीमैया महर्जन

०६६ मा हराएकी काठमाडौं जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । केही शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि तथ्य जुटाउन सकेन, जसकारण छोरीमैयाको घटना रहस्यमै छ । उनि हराउदा हालका नेकपाका नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहनु भएको थियो ।

दाङका हेमराज धिताल हत्या

रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष तथा राप्ती अञ्चल बस व्यवसायी समितिका पूर्वअध्यक्षसमेत रहेका हेमराज धितालको ६ साउन ०६७ मा तुलसीपुर–१२ जसपुरमा गोली हानी हत्या भएको थियो । दाङमा पुग्ने हरेक प्रहरी प्रमुखले सो घटना पत्ता लगाउने घोषणा गरे पनि सफल भएका छैनन् । यस बेला झलनाथ खनाल प्रधानमन्त्री रहनु भएको थियो ।

व्यवसायी दिवाकरको हत्या

यो प्रश्नको जवाफ प्रहरीले ६ वर्षदेखि खोज्न सकेको छैन । १७ असोज ०६९ मा ललितपुरको धोबीघाटमा घरभित्रै व्यवसायी दिवाकर चन्दको घाँटी थिचेर हत्या भएको थियो । हत्या भएको दिन दिवाकर केही युवतीसहित आफ्नो निवासमा गएका थिए। ती युवतीहरूमाथि विभिन्न कोणबाट प्रहरीले केरकार गरे पनि अनुसन्धानले बाटो समाउन सकेन । धनाढ्य चन्द पछिल्लो समय आर्थिक समस्यामा परेका थिए। आर्थिक कारोबारसँग जोडिएर उनको हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ । यस बेला प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईले जिम्मेवारी सम्हाल्नु भएको थियो ।