जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार २०:१८

घुससहित रंगेहात समातीय एकै कार्यालयका चार कर्मचारी : प्रमुखदेखि ड्राइभरसम्म घुसखोर


काठमाडौं, साउन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्यसहित चार कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको बिशेष टोलीले एक लाख तीस हजार घुससहित रंगेहात पक्राउ गरेको हो । यसरी घुस लिँदालिँदै पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैसी रहेका छन । कार्यालयबाट संचालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए ।

अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई उनीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको छ । पछिल्लो समय अख्तियारले घुसखोरीबिरुद्ध कठोर कदम चालेको छ । सेवाग्राही बनेर हरेक कार्यालयमा निगरानीसमेत अघि बढाएको छ । यही निगरानीको परिणाम एउटै कार्यालयमा घुससहित चार कर्मचारी पक्राउ परेका हुन ।