जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १३:५०

पत्नी सीता दाहालको इच्छा पूरा गर्न दुई छोरी र नातिनीसहित दुवई भ्रमणमा निस्किए अध्यक्ष प्रचण्ड


काठमाडौं, साउन १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड परिवारसहित यूएई भ्रमणमा जानुभएको छ । पत्नी सीता दाहालको आग्रहमा प्रचण्ड त्यसतर्फ प्रस्ताथ गर्नुभएको हो ।

उहाँको साथमा पत्नीसहित दुई जना छोरी र नातिनीहरु रहेका छन । अध्यक्ष प्रचण्ड आज बिहान साढे नौं बजे प्रचण्ड दुबईतर्फ उडनुभएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रचण्डकै सचिवालयमा कार्यरत छोरी गंगा दाहाल र नातिनीहरु पनि भ्रमणमा गएको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो। छोरा प्रकाश दाहालको असामयिक निधनसँगै पुत्र बियोगका कारण गम्भीर बिरामी पर्नुभएकी पत्नी सीताको मनोवल बढाउन प्रचण्डले यसअघि ५० औं बर्षगाँठमा बेहुला बेहुली बनेर सीतासँग पुनः बिवाह गर्नुभएको थियो । पुत्र बियोगको पीडामा छटपटिनुका साथै केही समयदेखि बिरामी पर्नुभएकी सीताको इच्छा पूरा गर्न अध्यक्ष प्रचण्ड आज दुवई जानुभएको हो ।

‘मेडम (सीता)ले पटक–पटक दुबई जाने मनसाय व्यक्त गरेपछि उहाँहरु त्यहाँ जान तयार हुनुभएको हो, यो भ्रमण विशुद्ध पारिवारिक मात्रै हो,’ सापकोटाले भन्नुभयो । अध्यक्ष प्रचण्ड साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।