जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार ११:५६

सवै बरिष्ठ नेताहरुले स्वीकार गर्नैपर्ने यो अन्तिम सत्य


बीपी नाममा जति बोधीचित्त मालाको जप गरे पनि नेपाली काँग्रेस अहिले समाजवादी छैन । कम्युनिस्टको कुनै सिद्धान्तमा सामन्तवाद हुन्छ भने अहिलेको नेपाल कम्युनिस्ट पार्टी त्यसको वाहक भएको छ । नेपाली काँग्रेसका नेताहरूले आफूलाई बीपी विचारसँग जोडेनन् भने उनीहरूको विनाश सुनिश्चित छ । यता कम्युनिस्ट पार्टीका नेताहरूले पनि आफूलाई कार्लमाक्र्सका अनुयायी बनाएनन् भने नेपाली कम्युनिस्टको हालत पनि भारतीय कम्युनिस्टको भन्दा बेहाल हुनेछ

सय वर्षको आयु मान्दा ५० वर्षसम्म दिमागले पूर्ण क्षमतामा काम गर्नसक्ने, ५१ वर्ष लागेपछि दिमागले विस्तार विस्तार आराम खोज्ने, तनाव सहन नसक्ने हुनाले झर्कोफर्को गर्न थाल्ने हुन्छ क्या रे ! यो कसैप्रति लक्ष्यित होइन । माक्र्सवादकै नाउँमा फलाम जस्ता स्टालिन र चिनियाँ मुक्तिनायक माओत्सेतुङका बुढेसकालका गल्तीहरूको विश्लेषण गरेर मैले निकालेको निष्कर्ष हो यो । भारतमै पनि महात्मा गान्धी सत्ताको किनारमा बसेर राष्ट्रपिता हुनुभयो र पदमै घाट पुगेका प्रधानमन्त्री, उहाँका चेला कोही पनि त्यो सम्मान पाउन योग्य भएनन । सत्ता राजनीतिको नाफा घाटा यही हो । लोभ गर्नुहोस, वर्तमान त ठिकै होला तर भविष्य अँध्यारो हुन्छ । लोभ छोड्नुहोस, तत्काल चिरिक्क मन दुख्ला तर त्यसैले तपाईंको भविष्यलाई सुन्दर पार्छ । मरेपछि राजा रङ्क बराबर भन्ने सोच्नुहुन्छ भने त केही भन्न मिल्दैन तर तपाईं मरे पनि तपाईंले गरेका भ्रष्ट आचरणका कारण सन्तानले अपमान र घृणाको भारी बोकिरहनु पर्नेछ ।

गएको शनिबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा जीवनबोधी साहित्यकार गुरुराज घिमिरेको कथा संग्रह ‘मान्छेका कथाहरू’ को लोकार्पण कार्यक्रम थियो । नेपाली काँग्रेसका सबै शीर्षनेता, यथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत र अर्जुननरसिं केसी, मीनेन्द्र रिजाललाई एउटै मञ्चमा बसेको देखेर म चकित भएँ । उहाँहरू सबैले गुरुराज घिमिरे साहित्य समर्पणको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । गुरुराज घिमिरे साहित्य पनि राजनीतिसँगै हिँड्छ भन्ने मान्यता राख्ने युवा काँग्रेस हुनुहुँदोरहेछ । उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो, ‘म ९० प्रतिशत राजनीति र १० प्रतिशत साहित्य सेवा गर्छु । नेताहरूले त उहाँलाई ९० प्रतिशत साहित्य सेवा र १० प्रतिशत राजनीति गर्नुहोस् भन्नेसम्मको शुभकामना दिनुभयो ।

नेपालको राजनीतिक पुस्तान्तरणको एउटा उदाहरण पेश गरेको हुँ मैले । गुरुराजको राजनीति नेपाल विद्यार्थी संघबाट सुरु भएर पार्टीको केन्द्रीय समितिको सदस्यसम्म पुगेको रहेछ । जसरी नेपाली काँग्रेसका नेताहरूले मुक्तकण्ठले उहाँको प्रशंसा गर्नुभयो, व्यवहारमा पनि युवापुस्ताको सक्रियतालाई व्यवहारमा उत्रिन सघाएको भए ‘क्या बात !’ भनेर उहाँहरूको प्रशंसामा गीत गाउन सकिने थियो तर मञ्चमा उहाँहरूले युवा पुस्ताको उदाउँदो सूर्य बनाउनुभयो, पार्टीभित्रको व्यवहारमा उहाँलाई ‘तिमी परै बस, लेखलाख गर पार्टीतिर आँखा नलगाऊ’ भन्ने सोच पाल्नुभएको छ भनेर बुझ्न मलाई अलिकति पनि गाह्रो परेन । किनभने उहाँहरूले आफ्नो मन लुकाउन चाहनु पनि भएन ।

काँग्रेसका नेताहरूको जस्तै बिमारी नेपाल कम्युनिस्ट पार्टीका नेतामा छ भन्ने कुरो गएको हप्तामा छर्लङ्ग देखियो । सचिवालयमा रहेका नेताहरू बाहेक अरू कसैलाई पनि विभागीय नेतृत्व दिनुहँुदैन भन्ने उहाँहरूको व्यवहार देखियो । यथार्थमा नेपाल कम्युनिस्ट पार्टीका बडा नेताहरू पार्टीको सल्लाहकार हुन योग्य हुनुहुन्छ । उहाँहरूबाट न प्रशिक्षण विभाग चल्छ, न त स्कुल विभाग नै । यो मैले उहाँहरूलाई गाली गरेको होइन । राजनीतिका प्रत्येक पाइलामा उहाँहरू असफल हुनुभएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तमा समेत अन्योल छ । जनताको बहुदलीय जनवादका सबै मुद्दालाई समर्थन गरेर, त्यसभित्रको लोकतान्त्रिक अवधारणाको विरोध गर्ने तीन बुँदा थपेर निकालिएको जनताको जनवाद भनेको के हो ? आधारभूतरूपमा चीनको नौलो जनवादको निरन्तरता बाहेक यसमा के छ ?

जनताको जनवाद स्वीकारेर हामी पनि आएकै हौँ । त्यसबाट मर्न आँटेको कम्युनिस्ट आन्दोलनको पुनर्जागरण हुँदैन भन्ने टुङ्गो लागेपछि हामी जनताको बहुदलीय जनवादमा पुगेका हौँ । त्यही जनताको बहुदलीय जनवादले कम्युनिस्ट पार्टीको निर्वाचित सरकार गठन गरेर नेपाल कम्युनिस्ट पार्टीलाई अहिलेको दुईतिहाइ बहुमतसम्म पुर्याएको हो । ‘जनताको बहुदलीय जनवाद हुँदैनथ्यो भने हाम्रो नेपाली कम्युनिस्ट पार्टी पनि भारतको कम्युनिस्ट पार्टी जस्तो मुर्झाएर बस्ने थियो ।’ यो पुछारको वाक्य मेरो होइन, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो । यति भन्दाभन्दै पनि उहाँहरू फेरि फर्किएर जनताको जनवादतिर किन जानुभयो ? किनभने उहाँहरूले स्वतन्त्र ढङ्गले माक्र्सवाद पढ्नुभएको छैन । उहाँहरूका लागि स्टालिनको ‘लेनिनवादका आधारहरू’ नै गीता भइदियो, जसको माक्र्सवादको मूल मर्म, स्वतन्त्रतासँग कुनै साइनो सम्बन्ध छैन । माक्र्स स्वतन्त्रताका प्रवक्ता थिए भने स्टालिन निरङ्कुशताका । सायद सर्वहारा अधिनायकत्व, माक्र्सवादमा मिसिनुमा स्टालिनको भूमिका छ कि ! रुसी क्रान्तिको स्वरूप र भविष्यका बारेमा रोजा लक्जमबर्गको निष्कर्ष पढेर मैले यो वाक्य लेखेको हुँ ।

बीपी नाममा जति बोधीचित्त मालाको जप गरे पनि नेपाली काँग्रेस अहिले समाजवादी छैन । कम्युनिस्टको कुनै सिद्धान्तमा सामन्तवाद हुन्छ भने अहिलेको नेपाल कम्युनिस्ट पार्टी त्यसको वाहक भएको छ । नेपाली काँग्रेसका नेताहरूले आफूलाई बीपी विचारसँग जोडेनन् भने उनीहरूको विनाश सुनिश्चित छ । यता कम्युनिस्ट पार्टीका नेताहरूले पनि आफूलाई कार्लमाक्र्सका अनुयायी बनाएनन् भने नेपाली कम्युनिस्टको हालत पनि भारतीय कम्युनिस्टको भन्दा बेहाल हुनेछ । हामीजस्ता जिज्ञासु पाठकले समेत बुझेको सिद्धान्त जिन्दगीभर राजनीति गरेर आर्यघाट जाने सपना देखेका राजनीतिक नेताले किन नदेखेका होलान् ! मैले यो आरोप हाम्रा नेताका लागि मात्र गरेको होइन । बुढा ट्रम्प आउनुभयो, अमेरिकाको कलिकाल सुरु भयो । मोदीले दक्षिण एसियामा हिन्दु आतंक पैmलाउनुभयो । हाम्रा नेताहरूले पनि यति कुरो बुझ्नुपर्यो ।

अर्को सत्य के हो भने जहिले पनि पछिल्लो पुस्ता अग्रगामी हुन्छ । हाम्रो राजनीतिक पुस्ताले आफैँ सामाजिक सञ्जाल चलाउन जानेको हो ? होइन । हाम्रा छोराछोरीले हामीलाई फेसबुक बनाउन र चलाउन सिकाएका हुन् । हामीलाई फेसटाइम थाहा थियो ? मलाई त थिएन । सन्तानहरू समुद्र नाघेर बाहिर गइसकेपछि उनीहरूले अनुहार हेर्दै फेसटाइममा गफ गरेर नियास्रो मेटाउन सिकाएका हुन् । सबै नीतिमा राजनीति सबैभन्दा ठूलो हो, सबै नीतिको नायक हो भनिन्छ । तर त्यही मूलनीतिमा अयोग्यता देखियो भने कुन नीति सही हुन्छ ? नेपालको असफलता यही पुस्तान्तरको सत्यलाई नबुझ्ने कुरासँग जोडिएको छ ।

पार्टीको नाम जे राखे पनि अहिलेको सत्ता दलाल पुँजीवादको नियन्त्रणमा छ । कसरी भन्ने प्रश्न नसोधौँ । काँग्रेससँग प्रतिपक्षको एजेण्डा छैन, सरकार पटकपटक निर्णय गर्छ, तलबाट चर्को विरोध हुन्छ तर त्यहाँ सरकारको जीत हुँदैन । उसले सम्झौता गर्नुपरिरहेको छ । दुईतिहाइको लाचार सरकार भन्ने सिठ्ठी फुकिएको छ । ठूला व्यापारीले ‘कर तिर्दैनौँ’ भन्न पाइन्छ ? पाइन्न । जताततै सिण्डिकेट र बिचौलियाको दशैँ छ । सरकारले एउटा पनि सिण्डिकेटलाई सदाका लागि समाप्त पार्न सकेको छैन । किन ? राष्ट्रिय पुँजीवाद अत्यन्तै कमजोर छ नेपालमा । राष्ट्रिय पुँजीवाद कमजोर भएको मुलुकमा जनताको वास्तविक सरकार कहिल्यै शक्तिशाली हुन सक्दैन । त्यसैले समाजवाद चाहने अहिलेका सबै नेपाली राजनीतिक पार्टी दलाल पुँजीवादका विरुद्ध एकजुट हुनुपर्छ । एकजुट भएरै त्यसलाई परास्त गर्न सकिन्छ ।

हाम्रा सबै वरिष्ठ नेताले यो अन्तिम सत्यलाई स्वीकार गर्नुपर्छ । युगान्तकारी परिवर्तनका लागि जोश जाँगर, साहस र स्वाभिमानको खाँचो पर्छ । मानवमा यो अवस्था भनेको युवाशक्तिमा नै हुन्छ । आफ्नो जोश सम्झिनुहोस् नेताहरूले । त्यस्तो काम गर्न अब कसैले पनि सक्नुुहुन्न । आफ्नो उत्पादनप्रति त विश्वास गर्नुस । बादल कहिल्यै एक ठाउँमा स्थिर भएर तेर्सिइरहन सक्दैन । ठूलो हुण्डरीमा त्यसले छताछुल्ल हुनैपर्छ । त्यो हुण्डरी ल्याउने शक्ति युवामा हुन्छ । दुवै ठूला (कम्युनिस्ट र काँग्रेस) पार्टीमा महाधिवेशनको चर्चा चल्न थालेको छ । पाँच दशकमा हिँडिरहेका युवालाई नेतृत्वमा ल्याउनुहोस, प्रतिस्पर्धी पार्टीलाई पराजित गर्नुहोस । (गोरखापत्रबाट)