जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार ०८:३६

सैनिक परेडमा मिसाइल र ड्रोन आक्रमण , ३२ जनाको मृत्यु


एजेन्सी, साउन १७, । यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले मिसाइल र ड्रोनबाट आक्रमण गर्दा ३२ जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । हुथी विद्रोहीद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो । यसअघि पनि अदन शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जनाको ज्यान गएको थियो । सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकआपसमा जोडिएको छ कि छैन भन्ने बारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

आक्रमणको दृश्य निकै दर्दनाक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ‘शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिकहरु रोइरहेका थिए ।’

सन् २०१५ को मार्च महिनामा हुथी विद्रोहीहरुले देशको पश्चिमतर्फको ठूलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए । त्यसयता यमन युद्धग्रस्त बनेको छ ।