जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १६:५६

उपचारपछि नेपाल जान लाग्दा सिडनी बिमानस्थलबाटै समातीय कार दुर्घटनाका चालक


अष्ट्रेलिया, साउन १८ । गत हप्ता दुई जनाको ज्यान जाने गरी भएको कार दुर्घटनाका चालकलाई सिडनी प्रहरीले पक्राउ गरेको छ । दुई नेपाली विद्यार्थीको मृत्यु भएपछि भर्खरै अस्पतालबाट डिस्चार्ज भएका कार चालक सागर भट्टराईलाई नेपाल जाने क्रममा सिड्नी विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

नेपाली विद्यार्थीहरूको एक समूह स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँंदा दुई जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा चालक भट्टराईसहित अन्य तीन जना घाइते भएका थिए। सो दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको थियो।

क्यानबेरा अस्पतालमा उपचार गराइ डिस्चार्ज भएपछि भट्टराई शुक्रबार राति परिवार भेट्न नेपाल जान खोजेका थिए। पक्राउ परेको सागरलाई हाल लापरबाहीका साथ गाडी ड्राइभिङ गरेको आरोपमा मस्कटस्थित प्रहरी चौकीमा राखिएको स्थानीय अखबारले जनाएको छ। अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले दुर्घटना भएपछि उपचारकै क्रममा क्यानबेरामा भेट्दा सागरले ‘नेपाल जान्छु’ भनेको जानकारी दिनुभयो । उहाँले यस बिषयमा औपचारिक धारणा बुझ्ने प्रयासमा लागिएको जानकारी दिनुभयो ।