जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १७:०४

प्रहरीलाई नै इन्काउन्टर गर्ने विप्लव समुहको चेतावनी


कैलाली, साउन १८

सुरक्षाकर्मीमाथी आक्रमण गर्ने योजना नभएको बताईरहेको नेत्रविक्रम चन्द विप्लवको समुहले प्रहरीलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ । विप्लव समुहले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी जारी गर्दै इन्काउन्टर गर्ने चेतावनी दिएको हो ।

शुक्रबार जारी गरिएको पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन भनिएको छ। कैलाली जनअदालत प्रमुख विकासको नामबाट उक्त पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ पुर्जी कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको छ। कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। पक्राउ पुजीमा जुनसुकै बेला पनि ’इन्काउन्टर’ गर्न आदेश जारी गरिएको छ।

यसैविच, कैलालीमा प्रहरीले विप्लव समूहका २ कार्यकर्तालाई पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्द बहादुर बमलाई प्रहरीले पक्राउ गरेको हो। बमलाई शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ। त्यस्तै प्रहरीले शनिबार दिउँसो टिकापुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ गरेको छ। जानकी गाउँपालिकाका ईन्चार्ज राम विकलाई पक्राउ गरेको प्रहरीले स्रोतले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।