जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १४:१९

कांग्रेस र नेमकिपाबाट बिकाश असंभव भन्दै १६८ जना नेता कार्यकर्ताले रोजे सत्तारुढ नेकपा


भक्तपुर, साउन १९ । भक्तपुरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सयौं नेता तथा कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं। ५ को आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा शनिबार उक्त स्थानका १६८ जना कांग्रेस तथा नेमकिपाका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।

नवप्रवेशीले भक्तपुरका जनताको एउटै मात्र चाहना विकास र समृद्धि भएको बताउँदै उक्त कार्यको नेतृत्व नेकपाका नेता तथा कार्यकर्ताले मात्र गरेकाले आगामी दिनमा नेकपा भित्र रही विकास र समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले कांग्रेस र नेकपाको काम नभएको र समृद्धिको बाधक बनेकोले नेकपा रोजेको बताए ।

नवप्रवेशीहहरुले विगतमा कांग्रेस तथा नेमकिपाले भक्तपुरमा नेतृत्व गरे पनि विकास गर्न नसकेको ठोकुवा गर्दै सांसद महेश बस्नेतले भक्तपुरमा विकास र समृद्धिका सबै ढोका खुल्ला गर्दै अघि बढेकाले उक्त अभियानलाई सार्थकतामा पुर्याउन सवै भक्तपुरवासीलाई नेकपामा प्रवेश गरी समृद्ध भक्तपुर बनाउने अभियानमा लाग्न समेत अपिल गरे ।

पार्टी प्रवेशलाई स्वागत गर्दै नेकपाका नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले वर्तमान समय र देशको आवश्यकता परिपूर्ती गर्नेमा नेकपा नै देशको विकास र समृद्धि तथा राजनीतिक राजमार्ग भएकाले पार्टी भएको बताउनुभयो । जनताको दुःख सुखको सारथीको रुपमा जनप्रतिनिधि भएको बताउँदै उहाँले राजनीति आग्रहको आधारमा कुनै पनि पूर्वाग्रह नराखेको बताउनुभयो ।

प्रचारको माध्यम नभई कामको आधारले नेकपाको नेतृत्वको जनप्रतिनिधिले सवै प्रकारको विकासका ढोकालाई खुल्ला गर्दै आम भक्तपुरवासीको भाग्य र भविष्यलाई सुनिश्चित गर्दै अघि बढेको बताउनुभयो ।

उहाँले अब नेपालमा विकासलाई तिव्र गतिका साथ अघि बढाउने पार्टी एकमात्र नेकपा भएकाले सवै नागरिकले बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा सडक, खानेपानी, ढल, भौतिक पूर्वाधारलगायतका विकासका कार्यहरु तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले विकास र समृद्धिमा एकता तथा राजनीतिमा प्रतिपर्धा भन्ने मान्यतालाई आत्मसात् गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दललाई आग्रह समेत गर्नुभयो ।